गगनले किन भने ‘साम्बाला’लाई ओस्कारयोग्य चलचित्र ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मीनबहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’लाई ‘ओस्कार वर्दी’ चलचित्रको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गगनले ‘साम्बाला’लाई ओस्कार अवार्डका लागि योग्य चलचित्र भनेका हुन् ।
गत आइतबार भएको यो चलचित्रको प्रिमियरमा गगन सिनेमा हेर्न पुगेका थिएनन् । तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने प्रिमियरमा पुगेर यो सिनेमा हेरेका थिए । गगनले भने ‘साम्बाला’ हेरे÷नहेरेको निश्चित छैन ।
यद्यपि, सिनेमा हलमा आउने प्रतिक्षामा छु भनेकाले उनले चलचित्र हेर्न बाँकी नै छ भन्ने संकेत गरेको छ ।
उनले लेखेका छन्, “साम्बाला सिनेमा हलमा आउने प्रतिक्षामा छु । सबैलाई हेर्न आग्रह पनि गर्दछु ।”
तर, उनले यो चलचित्रलाई ओस्कार योग्य भन्दै प्रशंसा गरेका छन् । प्रशंसा मात्रै होइन हेर्न पनि आग्रह गरेका छन् । केही नाम चलेका मिडियाका ‘सेलिब्रिटी सम्पादक’ले यो सिनेमाबारे लेखेकाले हुनसक्छ उनले हेर्दे नहेरी ‘ओस्कार वर्दी’ चलचित्र भनेको ।
“प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिने कर्मी हो । ओस्कार वर्दी चलचित्र साम्बाला निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना” गगन लेख्छन्, “कांग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्याति प्राप्त सिने कर्मी हो भन्दा थप गर्व गर्नसक्ने विषय हो । साम्बाला सिनेमा हलमा आउने प्रतीक्षामा छु । सबैलाई हेर्न आग्रह पनि गर्दछु ।”
मीन नेपाली कांग्रेसमा आबद्ध व्यक्ति हुन् । उनी कांग्रेसनिकट र सुवेच्छुक मात्रै होइनन् कांग्रेसका सदस्य नै हुन् ।
‘साम्बाला’ यही शुक्रबारबाट रिलिज हुँदैछ । यो चलचित्रको शो बाँडफाँट पनि भइसकेको छ । हलहरूले अग्रिम बुकिङ खुलाइसकेका छन् ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आकर्ष शो प्रदान गरेको छ ।
साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ ।
‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ । चलचित्रको कथा मिन भाम र अभिनास विक्रम शाहले लेखेका छन् ।