दयाहाङ र आँचलले सुरु गरे ‘दुखी आत्मा’

दयाहाङ राई र आँचल शर्मा स्टारर नयाँ चलचित्र ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ। यो चलचित्र दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुँदैछ, जसको सुटिङ राजधानी काठमाडौंका विभिन्न स्थानमा गत सोमबार अर्थात् २४ गतेबाट सुरु भएको हो।
सुटिङ सुरुसँगै ‘दुखी आत्मा’को सेटबाट दयाहाङ र आँचलको केही तस्विर बाहिरिएको छ । दया र आँचलको यो दोस्रो सहकार्य हो । यस अघि उनीहरूले ‘डिग्री माइला’मा जोडीका रूपमा काम गरेका थिए ।
हिमाल कडरिया निर्माता रहेको सिनेमामा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतको अभिनय रहने छ ।
क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भइरहेको सोसियल कमेडी जनरामा आधारित रहने चलचित्र काठमाडौंकै सेरोफेरोमा छायांकन गरिने निर्देशक लामाले जानकारी दिएका छन् ।
निर्माता कडरियाले आफूहरुले सिनेमा भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । यसअघि निर्देशक दीपेन्द्र र निर्माता हिमालले ‘नाङ्गो गाउँ’ सहकार्य गरेका थिए । जुन बक्स अफिसमा सुपरहिट भएको थियो।
चलचित्रमा आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् ।
आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।
