शिल्पीमा ‘डोलीभर्ना’मा आधारित नाटक ‘मुक्कुमलुङ’ मञ्चन हुँदै

काठमाडौं । शिल्पी थिएटर बत्तीसपुतलीमा असोज २ गतेदेखि डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’ मा आधारित नाटक ‘मुक्कुमलुङ (विश्वासको शक्ति)’ मञ्चन हुने भएको छ ।

प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रूपान्तरण गरेको यस नाटकलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् । नाटक असोज २ देखि २० गतेसम्म हरेक दिन (मंगलबार बाहेक) मञ्चन हुनेछ ।

मुक्कुमलुङ नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रयास वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, स्मृति कुलमर लगायतका कलाकारको अभिनय रहेको छ। नाटकको संगीत डिजाईन संजित थुलुङले गरेका छन् भने सेट डिजाईन मणि किरातीले र लाइट डिजाईन सञ्जीव योगीले सम्हालेका छन् ।

नाटक मुक्कुमलुङ को मूल कथा लिम्बू समुदायको पवित्र आस्थाको थलो मुक्कुमलुङ, जसलाई हाल पाथीभराका नामले चिनिन्छ, र यसलाई केन्द्रमा राखिएको विरोधका कथाहरूको बारेमा छ । लिम्बू समुदायको परम्परागत मुन्धुमी संस्कृति, समाजको जीवनशैली, र पहाडी क्षेत्रको जनजीवनमा आधारित डा. माबोका १५ वटा कथाहरू ‘डोलीभर्ना’ मा संग्रहित छन्, जुन केही समयअघि सांग्रीला बुक्सले प्रकाशित गरेको थियो ।

पछिल्लो समयमा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको परियोजना अघि बढाउने प्रयास भएपछि त्यसविरुद्ध चर्को विरोध भइरहेको छ। नाटकले यही विषयलाई आधार बनाएर विश्वासको शक्ति र समुदायको आस्थालाई प्रस्तुत गरेको छ ।

यस नाटकले समसामयिक र सांस्कृतिक सवालहरूलाई उजागर गर्दै मञ्चनको तयारी पूरा गरेको छ ।