किम्फमा सचिनको निर्देशनमा वृत्तचित्र ‘म अलप हुन चाहन्छु’
काठमाडौं । २१ औं किम्फको दोस्रो दिन नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र प्रदर्शन भएको छ । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन् । नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन् । उनी मानवशास्त्री र साहित्यकारका रुपमा समेत चर्चित छन् ।
प्राज्ञिक कर्मसँगै सामाजिक रुपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ पुस २७ देखि रहस्मयी रुपमा बेपत्ता छन् । जुम्लाबाट नेपालगञ्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन् ।
जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, ‘म अलप हुन चाहन्छु ।’ निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई फिल्मको नाम दिइएको हो ।
जुम्लाको चौधाबीसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए । उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन् । यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कयौं सन्दर्भ आएका छन् ।
फिल्ममा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताहरुले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन् ।
डोरबहादुरलिखित फ्याटलिज्म एन्ड डेभलपेन्ट र पिपुल अफ नेपाल नेपाली र विदेशी अध्येतामाझसमेत चर्चित छन् ।