‘कालो पोथी’ले जति कमाउला ‘शाम्बाला’ले ? यसरी देखिँदैछ सकारात्मक संकेत

काठमाडौं । एक हप्तामा चलचित्र ‘शाम्बाला’ले एक करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको मीनबहादुर भाम निर्देशित चलचित्रले सात दिनमा एक करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
आठ वर्ष अगाडि रिलिज भएको मीनको पहिलो कथानक चलचित्र ‘कालो पोथी’ले पहिलो हप्तामा ३० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । ‘कालो पोथी’ले गरेको कलेक्सनको तुलनामा ‘शाम्बाला’को कलेक्सन भने धेरै हो । तर आठ वर्ष अगाडिको तुलनामा अहिले धेरै सिनेमा हल छन् ।
‘कालो पोथी’ले टोटलमा साढे तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । ‘शाम्बाला’ले त्यति कलेक्सन गर्छ कि गर्दैन त्यो त निश्चित भइसकेको छैन । तर निर्माणपक्ष भने विस्तारै अकुपेन्सी बढ्दै गएकाले ‘कालो पोथी’ले जस्तै पिकअप लिनेमा ढुक्क छ । अकुपेन्सी बढ्दै जानु राम्रो संकेत भने हो ।
चलचित्र हेर्ने जतिले राम्रो भनेको र यही समय ९७ औँ अस्कर अवार्डमा नेपालबाट यही सिनेमा छनोट हुनुले पनि यसलाई सकारात्मक सहयोग मिलेको छ । यदि, अकुपेन्सी बढ्दै गएको खण्डमा भने ‘कोलो पोथी’ले भन्दा धेरै कलेक्सन गर्ने निश्चित छ । धेरै हल हुनु र राम्रो शो पाउँदा अकुपेन्सी बढेको खण्डमा कलेक्सन रकम बढ्न धेरै समय लाग्दैन ।
‘कालो पोथी’ लागेको समयमा निर्माताको सेयर दोस्रो हप्ताबाट क्रमशः घट्दै जान्थ्यो । तर अहिले रिलिज भएको दिनदेखि चलचित्र उत्रिदासम्म समान ५० प्रतिशत सेयर पाउने भएकाले निर्माताको हातमा पर्ने पैसा पनि अहिले बढी हुन्छ ।
‘साम्बाला’ करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण भएको चलचित्र हो ।
मीनबहादुर भामले निर्देशन गरेको सिनेमामा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य मुख्य भूमिकामा छन् । सिनेमाको कथा मीन र अभिनास विक्रम शाहले संयुक्त रूपमा लेखेका छन् ।