राजेश हमालले भने– सोचेभन्दा फरक स्टोरी भएकाले चलचित्रमा फर्किएँ (तस्बिरहरु)


काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको एनएफडीसी स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो ।

एक्सन तथा सोसल ड्रामा चलचित्रको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको चलचित्रको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठलगायतको उपस्थिति थियो।

निर्देशक भट्टराईले यो चलचित्र आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, “यो चलचित्र मेरो लागि निकै च्यालेन्ज छ । राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भिन्स गर्नलाई नै मलाई तीन महिना लागेको थियो,” उनले भने ।

निर्माता महर्जनका अनुसार यो चलचित्र फरक तरिकाले निर्माण हुने भएकोले आफू यो चलचित्रको निर्माणमा जोडिएको बताए । नायक हमालले यो चलचित्रको स्टोरी आफूले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः फिल्ममा फर्किएको बताए ।

कलाकार राज कटुवालले आफूले सानैदेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उनैसँग चलचित्र खेल्न पाउदा आफू निकै उत्साहित रहेको बताए ।

अभिनेत्री नीति शाहले आफूलाई निकै च्यालेन्ज भएको र यो चलचित्रमा राजेश हमाल भएको कारण पनि आफू यो चलचित्रका टिमसँग जोडिएको बताइन् । उनले भनिन्, “मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो । अहिले आएर उहासँगै काम गर्न पाउदा एकदमै खुसी छु ।”

अर्की नायिका सनिशा भट्टराईले भनिन्, “मेरो बुवा उहाँको फ्यान भएको कारण मैले पनि उहाँको फिल्म बच्दैदेखी हेर्दै आएको थिएँ । अहिले उहासँग एउटै फिल्ममा काम गर्न पाउँदा उत्साहित छु।”

फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायत कलाकारहरुको अभिनय रहनेछ ।

यो चलचित्रबाट ८ वर्षपछि हमालले कमब्याक गर्दैछन् । उनले यो चलचित्र लागि केही समयदेखि आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् ।

अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो चलचित्रलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछन् ।