सामाजिक सन्देश दिने चलचित्र ‘झिल्को’ फस्ट लुक सार्वजनिक
काठमाडौं । चलचित्र ‘झिल्को: द स्पार्क’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार निर्देशक यादवकुमार भट्टराईले चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै आगामी पुस ५ गतेबाट देशभर प्रदर्शन हुने जानकारी दिए।
सामाजिक सन्देश दिने आशा गरिएको चलचित्रको पोस्टरमा मुख्य कलाकारहरू सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको उपस्थिति देख्न सकिन्छ।
चलचित्रको पोस्टरले मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्याहरू र तिनले परिवार तथा समाजमा पार्ने प्रभावलाई कथावस्तु बनाएको संकेत गरेको छ।
‘झिल्को: द स्पार्क’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। चलचित्रको छायांकन दीपक बज्राचार्यले गरेका हुन् भने, चण्डीप्रसाद काफ्ले र दीपक शर्माले संगीत दिएका छन्।
निमेश श्रेष्ठले सम्पादन गरेको यस चलचित्रका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्। जनताप्रसारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको चलचित्रको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशन अनिश बुढाथोकीले गरेका छन्।
चलचित्रमा आनन्द अधिकारीको गीत र शिव परियार तथा निशा देशारको स्वर रहेको छ। दिलिप पन्त निर्माण नियन्त्रक, सहसम्पादन नारायण गैरे, र मुख्य सहायक छायांकन विवेक लामा रहेकोमा पोस्टर डिजाईन आइडियलले गरेको हो।
चलचित्रको नेपाल वितरक डीएसएन नेपाल र अमेरिका तथा क्यानडा वितरक इपिक इन्टरटेन्मेन्ट रहेको जानकारी निर्माण टिमले दिएको छ।
‘झिल्को: द स्पार्क’ ले यो चलचित्र पुस ५ बाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।