निश्चल र स्वस्तिमाको स्टारडमले गुमनाम ‘बेहुली फ्रम मेघौली’का निर्देशक
काठमाडौं । गज्जवको हाइप बनाएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदैछ । चलचित्रका कलाकार यतिबेला पब्लिसिटीको दौडधुपमा छन् ।
सिनेमाको मुख्य भूमिकामा रहेका स्वस्तिमा खड्का र निश्चल बस्नेत पब्लिसिटीमा दौडिरहेका छन् । मेनस्ट्रिम मिडियादेखि पोडकास्टसम्म अन्तर्वार्ता दिन व्यस्त छन् ।
निश्चल र स्वस्तिमाबाहेक अन्य कलाकार पनि छन्, ‘बेहुली फ्रम मेघौली’मा । तर दौडधुपमा यी दुई कलाकार मात्रै छन् ।
प्रायः चलचित्र रिलिजको पूर्वसन्ध्यामा सिनेमाको पब्लिसिटीमा कलाकारसँगै निर्देशक पनि दौडिन्छन् । कतिपय निर्देशकका चलचित्र लाग्दा त कलाकारभन्दा निर्देशक नै बढी व्यस्त हुन्छन् ।
जस्तै : निश्चल स्वयले निर्देशन गरेको चलचित्र रिलिज हुँदा, रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र आउँदा, दीपेन्द्र के खनालका चलचित्र रिलिज हुँदा कलाकारभन्दा निर्देशकलाई मिडियामा भ्याइनभ्याई हुन्छ ।
‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकाश बराल हुन् । आकाश र सजनले यो चलचित्रलाई संयुक्त रूपमा लेखेका र निर्देशन गरेका छन् ।
काम र जिम्मेवारीका हिसावले निर्देशकलाई सिनेमाको ‘क्याप्टेन अफ दि सिप’ भनिन्छ । यसमा त झन उनीहरू निर्देशक मात्रै होइनन् लेखक पनि हुन् । चर्चा झन धेरै हुनुपर्ने थियो । सेलिब्रेटी निर्देशक निश्चलले विश्वास गरेर अभिनय मात्र होइन लगानी समेत गरिदिएको चलचित्र हो । त्यसैले यी दुई निर्देशकको चर्चा यति पूरै नेपाली सिने नगरीमा हुनुपर्ने थियो ।
तर, त्यसो भएन । न मिडियाले उनीहरू (सजन र आकाश)लाई खोज्यो । न निश्चल र स्वस्तिमाले विश्वास गरेका निर्देशक को रहेछन् भनेर कसैले खोज्यो । सिनेमा रिलिज हुँदैछ तर उनीहरू गुमनाम छन् । कतिलाई त ‘बेहुली फ्रम मेघौली’ निश्चलले नै निर्देशन गरेको चलचित्र भन्नेछ ।
सजन र आकाश भाग्यमानी व्यक्ति हुन् किनभने निश्चल जस्तो निर्देशकले उनीहरुलाई विश्वास गरेर निर्देशन गर्न दिए । उनीहरुको कथामा लगानी पनि गरिदिए । यो पोर्टफोलियोले भोलिको निर्देशकीय करिअरमा उनीहरूलाई प्लस पोइन्ट नै होला ।
तर, अहिले भने उनीहरूलाई निश्चल र स्वस्तिमाको स्टारडमले छपक्कै छोपिदियो । आफ्नै निर्देशनको चलचित्र आउँदा पनि गुमनाम प्रायः हुनुपर्यो ।
पहिलो निर्देशकीय सिनेमाले अनुहार नचिनाए पनि र मिडियामा पहुँच नदिलाए करिअर भने उकासोस् । कलाकारको स्टारडमले नवनिर्देशक ओझेलमा पर्नु स्वभाविक हो । तर, प्रतिभा अथवा निर्देशकीय क्षमता साँच्चै छ भने करिअर बुष्ट नै गराउँछ, चित्त सानो बनाउनु पर्दैन सजन र आकाशजी । स्टारडम र स्टारपावरको विशेषता भनेकै यही हो । स्वभाविक हो ।
‘बेहुली फ्रम मेघौली’को मुख्य भूमिकामा स्वस्तिमा र निश्चल सँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।