ललितपुरको रोक्का प्लाजामा ‘पनास रनवे’ संचालनमा, चर्चित कलाकारहरुले उद्घाटन
काठमाडौं । ‘पनास रनवे’को भव्य शुभारम्भ गरिएको छ । यसअघि दरबारमार्गमा संचालनमा रहेको यो रनवे कोरोनाका कारण केही समयका लागि बन्द भएको थियो । अब भने यो लोकप्रिय फेशन स्टोरलाई ललितपुरको संचयकोषको भवन अगाडि रहेको रोक्का प्लाजामा पुन: संचालनमा ल्याइएको हो ।
शुभारम्भ समारोहमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो । नायिका गौरी मल्ल, पूजा शर्मा, गायिका देविका बन्दना, नायक पुष्प खड्का, कुन्साङ बोमजम र निर्मात्री पूनम गौतमले संयुक्त रूपमा केक काटेर ‘पनास रनवे’को उद्घाटन गरे ।
समारोहमा नायिका गौरी मल्लले यो रनवेबाट आफूले प्राय: पहिरनहरु किन्ने गरेको बताउँदै ग्राहकहरुसँग आफ्ना अनुभव बाँडिन्।
रनवेकी संचालिका श्वेता सिरोहियाले ‘पनास रनवे’मा हरेक प्रकारका पहिरनहरु उपलब्ध रहेको र ग्राहकहरूको फरक-फरक रोजाइलाई ध्यानमा राख्दै सेवा दिने बताइन् । उनले भनेकी छिन्, “पहिले मानिसहरूमा यहाँका पहिरन महंगा हुने सोच थियो । तर, यसपटक हामीले भारतको ‘महारानी कलेक्शन’सँग सहकार्य गरेका छौं, जसले गर्दा भारतमा जस्तो दरमा पहिरन पाउन सकिन्छ, यहाँ पनि सोही दरमा उपलब्ध गराइएको छ ।”
निर्मात्री पूनम गौतमले रनवेमा उपलब्ध पहिरनहरू भारतका मुम्बई, पुणे, र दिल्लीबाट ल्याइएको जानकारी दिइन् । साथै, विभिन्न डिजाइनरहरूसँग सहकार्य गर्दै ‘पनास रनवे’लाई उत्कृष्ट फेशन गन्तव्यको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताइन् ।
‘पनास रनवे’ले नेपाली फेशन प्रेमीहरूका लागि नवीनतम डिजाइन र परिधिहरूको फराकिलो शृंखला उपलब्ध गराउँदै नेपाली बजारमा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ ।