जितु नेपाल: ‘ज्वाइँ साब’ मा दर्शकलाई दिक्क लाग्ने केही छैन
काठमाडौं । लोकप्रिय हास्य कलाकार जितु नेपालको नयाँ चलचित्र ‘ज्वाइँ साब’ यही असोज २४ गते फूलपातीको दिन रिलिज हुँदैछ । सिनेमामा उनले मुख्य भूमिका निर्वाह गरेका छन्।
अभिनय क्षेत्रमा स्थापित नाम जितु यो सिनेमा मार्फत् नयाँ अवतारमा देखिने छन् । यस अघि चलचित्र ‘ह्यारी कि प्यारी’मा ‘हिरो’ भएर अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेका जितुले ‘ज्वाइँ साब’मा नायिका निती शाहको जोडी बनेर दर्शकमाझ आउँदैछन् ।
चलचित्रमा आफ्नो क्यारेक्टरप्रति उत्साहित जितुले दर्शकलाई सिनेमा रोचक र मनोरञ्जनात्मक हुने दाबी गरेका छन् । उनले भने, “फिल्ममा मेरो क्यारेक्टर रमाइलो छ । कथामा पात्रले धेरै कुराहरू गर्न चाहन्छ तर त्यो उसले पाउँदैन । यसले गर्दा हास्य र ड्रामा मिश्रित मनोरञ्जनको सिर्जना हुन्छ ।”
चलचित्रको कथा र आफ्नो पात्रको विषयमा कुरा गर्दै जितुले यसप्रति निकै उत्साहित रहेको बताएका छन् । उनले आफ्नो भूमिका मन परेको र सिनेमाको कथा दर्शकलाई मनोरञ्जन दिने खालको रहेको बताउँछन् । ‘चलचित्रमा अनावश्यक कुरा छैन, कथा सरर एउटै ट्रयाकमा बगेको छ, दर्शकलाई दिक्क लाग्ने कुनै ठाउँ छैन,’ जितुले भने ।
‘ज्वाइँ साब’को पहिलो पटक स्क्रिप्ट पढ्दा कथा त्यति बुझ्न नसके पनि दोस्रो पटकको स्क्रिप्ट पढ्दा कथा निकै मन परेको उनले खुलाए । ‘पहिलो पटकको भन्दा दोस्रो पटकको स्क्रिप्टमा धेरै परिवर्तन भएको थियो,’ जितुले भने, ‘कथा सामान्य छ, तर आम दर्शकका लागि नयाँ र रोचक लाग्न सक्छ । मेरो पात्रले उत्पात गर्छ, जुन चीज पाउन खोज्छ, त्यो पाउँदैन । यसले गर्दा कथा रमाइलो बनेको छ ।’
चलचित्रलाई स-साना परिवारिक घटनाक्रममा आधारित सोसियल कमेडी भनेर वर्णन गर्दै उनले दर्शकलाई यसलाई मनोरञ्जनको लागि हेर्न आग्रह गरेका छन् । ‘चलचित्रले हाम्रो परिवारमा भइरहने कुराहरु प्रस्तुत गर्छ र दुःख भुल्न मद्दत गर्छ,’ जितुले भने ।
चलचित्रको टिजर र गीतमा जितुलाई बेहुला बनेर देखाइएको छ । यो उनको लागि पनि नयाँ अनुभव रहेको छ । उनले भने, ‘सामान्यतया दुलहीलाई बेहुलाको घरमा भित्र्याइन्छ, तर यहाँ ठीक उल्टो छ । यस्तो कुरा दर्शकलाई रोचक लाग्न सक्छ ।’
‘ज्वाइँ साब’को सुटिङको एक दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको थियो, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसलाई धेरैले फिल्मको प्रमोसनको लागि भएको चाल भने पनि जितुले यो बुझाइलाई अस्वीकार गर्दै भने, ‘त्यो क्लिप सार्वजनिक गरिएको थिएन, हामीले फिल्मका लागि चाहिने दृश्य मात्रै खिचेका थियौं । तर उपस्थित मानिसहरुले भिडियो खिचेर भाइरल बनाइदिए ।’
यस्तै, जितुले आफूलाई जबरजस्ती हिरोको रुपमा प्रस्तुत गर्न नखोजेको पनि स्पष्ट पारे । उनले भने, ‘म कुनै चलचित्रका लागि आफूलाई हिरो ठानेर काम गर्न आएको होइन । मलाई सुहाउने भूमिका भएका कारण मात्र म चलचित्रमा आएको हुँ । आफूलाई फिट हुने चरित्र छ भने सानोठूलो जस्तोसुकै चरित्र निभाउँछु ।’
‘ज्वाइँ साब’लाई जितुले आफ्नो करियरको कोशेढुंगा हुनेमा आशा व्यक्त गरेका छन् । ‘किनभने राम्रो कथावस्तुमा मलाई फिट भएको रोल छ । मैले पनि निर्देशकले भने अनुसार कथाको मर्म अनुसार नै अभिनय गरेको छु । म उत्साहित पनि छु’, उनी भन्छन् ।
निर्देशक वसन्त निरौलाले निर्देशन गरेको यस चलचित्रमा जितु नेपालसँगै नायिका निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।