‘बेहुली फ्रम मेघौली’को पाइरेसी भएपछि साइबर ब्यूरोमा निश्चलको उजुरी
काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘बेहुली फ्रम मेघौली’का दृश्यहरु टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि निर्माण पक्षले कानुनी कारबाहीको माग गरेको छ ।
सिनेमाका क्लिपहरु फेसबुक, टिकटक, इन्टाग्राम, र ट्विटरमा भाइरल भएपछि निर्माता तथा अभिनेता निश्चल बस्नेतले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
बस्नेतले आफ्नो चलचित्रका महत्वपूर्ण दृश्यहरू अनधिकृत रूपमा खिचेर सामाजिक सञ्जालमा राख्ने कार्यले फिल्मलाई आर्थिक र बौद्धिक क्षति पुर्याएको भन्दै दोषी व्यक्तिहरूलाई कारबाही गर्न माग गरेका छन् । साइबर ब्युरोले कपिराइट उल्लङ्घन अन्तर्गत सिनेमाका दृश्यहरू खिचेर राख्ने वा सेयर गर्ने एकाउन्टहरू बन्द गरिदिने चेतावनी दिएको छ ।
निश्चल बस्नेतले आफ्नो आधिकारिक वक्तव्यमा भने, “हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नु पाइरेसी हो । यसले बौद्धिक सम्पत्तिको चोरी गर्छ, जुन अपराध हो । साइबर ब्युरोलाई सहयोगको लागि धन्यवाद, अब सबैले पाइरेसी नगर्नुहोस् र अरुलाई पनि यो नर्गर्न सल्लाह दिनुहोस् ।”
‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि प्रदर्शनमा आएको हो, जसले तीन दिनमै २ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । सिनेमाको बक्स अफिस सफलताका बीच, यसरी सामाजिक सञ्जालमा पाइरेसीको समस्याले निर्माण पक्षले गम्भीर चासो दिएको छ ।
सिनेमाका दृश्यहरु अनधिकृत रुपमा सेयर गर्नु कपिराइट कानुनको उल्लङ्घन भएको भन्दै कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।