karsang
Close Me

बुस्टर बुद्धि, सँधै व्यस्त

काठमाडौं । कलाकार बुद्धि तामाङ नेपाली रजतपटका थोरै व्यस्त कलाकारमध्येका एक हुन् । दयाहाङ राई, प्रदीप खड्का जति व्यस्त छन्, त्यो भन्दा व्यस्त होलान् सायद बुद्धि । विजय बराल र बुद्धि तामाङ त्यस्ता कलाकार हुन्, जो हम्मेसी प्रमुख भूमिकामा पनि देखिँदैनन् तर काम नपाएर सुक्खा पनि हुँदैनन् । बरु भ्याइनभ्याइ हुन्छन् ।

बुद्धि र विजय अधिकांश चलचित्रमा दोस्रो लेयरमा बसेर सिनेमालाई उकास्ने काम गर्छन् । यही नै उनीहरूको छवि बनेको छ ।

लागौं बुद्धितर्फ मात्रै, अधिकांश चलचित्रमा उनी प्रमुख पात्रको साथीको भूमिकामा देखिन्छन् । साथीलाई सल्लाह दिने पात्रका रुपमा उनलालाई देख्न सकिन्छ ।

यस्तै भूमिकामा उनी देखिन लागेको सिनेमा हो, ‘ज्वाइँ साब’ जुन यही असोज २४ गते फूलपातीको दिन रिलिज हुँदैछ । यसमा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिनेछन् ।

दर्शकले ‘ज्वाइँ साब’मा उनलाई चलचित्रमा प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रूपमा देख्नेछन् । जितुलाई उकास्दै माथि लैजाने चरित्र छ, उनको ।

‘ज्वाइँ साब’ हेर्ने दर्शकले रमाइलो गर्ने उनको दाबी छ । चलचित्रमा रमाइलो खोज्ने दर्शक निराश नहुने उनको भनाइ छ । सिनेमाले मन छुने सामाजिक कथा भन्दै हसाउनेछ ।

‘ज्वाइँ साब’को ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् ।

बुद्धि कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला सिनेमाको तुलनामा ‘ज्वाइँ साब’ फरक रहेको बताएका छन् । दर्शकले केही नयाँपन पाउने उनको दाबी छ ।

‘ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका छन् । यो चचित्रमा बुद्धि, जितु र नीतिसँगै हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारको अभिनय छ ।