‘मायाका रंङहरु’को मुख्य भूमिकामा मनिष, पल बाहिरिएका हुन् ?

काठमाडौं । अभिनेता मनिष राउत नयाँ चलचित्र ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । निर्माण टिमले सोमबार मनिषको जन्मदिनको अवसरमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।

‘प्रेमगीत ३’ पछि मनिष पुनः एक्सन अवतारमा देखिने भएका छन् । उनले केही हप्ता अघि नै यो सिनेमाका लागि हस्ताक्षर गरेका हुन् ।

निर्देशक केबल तामाङले ‘मायाका रंङहरु’लाई नयाँ शैलीमा निर्माण गर्न लागिएको बताएका छन् । यसअघि मुख्य भूमिकामा नायक पल शाहलाई चलचित्रका लागि अनुबन्धित गरिएको थियो। तर, पलले सिनेमाको लागि समय दिन कठिनाई जनाएपछि निर्माण पक्षले मनिषलाई लिड भूमिकामा राखेको जानकारी प्राप्त भएको छ ।

पलले यसअघि साइन गरेको फिल्म ‘कल्की’ पनि छोडेका थिए, र यदि यो सिनेमा पनि छाडे भने उनको करिअरलाई लिएर भइरहेको टिप्पणीमा थप बल पुग्ने अनुमान गरिएको छ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘मायाका रंङहरु’को छायांकन सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने योजना छ ।

चलचित्र को प्रस्तुतकर्ता पुनम तामाङले रहनेछिन् भने भद्र भुजेल र राम मेहरा सहायक निर्देशकका रुपमा रहनेछन्। सिनेमाको कथा, पटकथा र संवाद शेखर ज्ञावालीले लेखेका छन्, जसमा संगीत तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको हुनेछ।

चलचित्र को छायांकन तिहारपछि सुरु गरिनेछ र नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको छ।