नौ महिना कष्ट्युम डिजाइनरलाई ट्रेन्ड गराएर काम गरेँ
काठमाडौं । नेपाली सिनेमाका विविध पक्षमा खरो आलोचना गर्दै आइरहेका निर्देशक नवीन सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’मा कष्ट्युम डिजाइनमा चित्त नबुझेपछि आफैँले ट्रेन्ड गरेर यसमा जनशक्ति तयार पारेका छन् ।
आफ्नो सिनेमामा लागि भइरहेका कष्ट्युम डिजाइनरबाट चित्त नबुझेपछि उनले आफैँले यसका लागि ट्रेन्ड गरेका हुन् । आफूले आलोचना गर्दै आएको र राम्रो काम नभएको देखेपछि दक्ष जनशक्ति ट्रेन्ड गरेर काम गरेको उनले प्रष्ट पारेका छन् ।
“मैले हाम्रोमा कस्ट्युम डिजाइनर छैन भनेको थिएँ । त्यसैले नौ महिना लगाएर आफैँ कस्ट्युम डिजाइनर तयार गरेँ,” उनले भने, “मैले ट्रेनड गरेको कस्ट्युम डिजाइनरबाटै मैले हाम्रो चलचित्रमा कष्ट्युम डिजाइन गराएको छु ।”
आर्ट डिपार्टमेन्टमा पनि आफूले त्यसरी नै काम गरेको उनको भनाइ छ । आर्टमा गज्जबको काम भएको उनको दाबी छ । सानो सानो डिटेलिङमा गएर काम भएको उनको भनाइ छ ।
“हाम्रो चलचित्र डिटेलमा हेर्यो भने सडक आउनु अगाडि र पछाडिको आर्टमा फरक पाइनेछ । सडकले ल्याउने ट्रान्फर्मेसन आर्टमा देखिनेछ,” नवीन भन्छन्, “स्थानीयको जीनव पद्धति र रहनसहनमा आएको परिवर्तनमा पनि काम गरेका छौँ ।”
सडक आउनुभन्दा अगाडिको रुचि र सडक आइसकेपछिको स्थानीयको रुचिको विभिन्न तहमा पनि आर्ट डिपार्टले मिहिनेत गरेर काम गरेको उनको भनाइ छ ।
आर्टमा लुगामा राईहरूको म्युजिक, मुन्धुममा परेको प्रभावमा देखिनेगरी काम भएको नवीनले बताएका छन् ।
‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ गते रिलिज हुँदैछ । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् ।
टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।
यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।