निश्चल अर्थात् एक क्रान्तिकारी लडाकु

निश्चल बस्नेत तिनै सिनेकर्मी हुन्, जो कहिले निर्देशन गर्छन्, कहिले अभिनय गर्छन्, कहिले गीत गाउँछन् त कहिले निर्माताका रूपमा चलचित्रमा लगानी पनि गर्छन् । यी परिचयले उनी भर्साइटल सिनेकर्मी हुन् भन्ने प्रष्ट पार्छ ।

निश्चल आफैँमा नेपाली सिनेमाका ब्रान्ड हुन् । पछिल्लो छिमलमा कोही त्यस्तो लोभलाग्दो निर्देशक छ भने ती निश्चल नै हुन् । ‘लुट’बाट नेपाली रजतपटमा डेब्यु गरेका उनी सोही सिनेमाबाट स्टार निर्देशक बने । उनी तिनै निर्देशक हुन्, जसको नेपाली रजतपटमा चलेका हिरो/हिरोइनको भन्दा कम क्रेज छैन ।

कुनै मेकरले गीत गाइदिनु पर्‍यो भने भने उनी गाइदिन्छन् । आइटम गीतमा मात्रै भए पनि नाचिदिनु पर्‍यो भने पनि नाचिदिन्छन् । कुनै मेकरको सिनेमाका लागि आफूले केही सहयोग गरिदिँदा हुन्छ भने किन नगरिदिने भन्ने उनमा सोच छ ।

निश्चल जति निश्चल मनका छन्, त्यति नै लडाकु स्वभावका पनि छन् । क्रान्तिकारी उनको स्वभाव छ । केही नयाँ कुरा सुरुआत गर्ने हो भने अरुको मुख ताक्ने होइन आफैँ गर्नुपर्छ भन्ने उनको स्वभाव छ ।

‘लुट’लाई नै यसको उदाहरणका रुपमा लिन सकिन्छ । निश्चलले ‘लुट’ त्यस्तो समयमा बनाएका थिए, जति बेला त्यस्ता चलचित्रलाई भिडियो फिल्म भन्थे । बलिउड फर्मुलामा चलचित्र बनिरहेका बेला निश्चलले ‘लुट’ बनाएका थिए । राजेश हमाल, भुवन केसी, धिरेन शाक्य, रमेश उप्रेती, निखिल उप्रेती र बिराज भट्टजस्ता व्यक्तिलाई हिरो मानिरहेको नेपाली रजतपटमा निश्चलले सौगात मल्ल र दयाहाङ राईलाई हिरो बनाएका थिए, आफ्नो चलचित्रमा । जसलाई नेपाली निर्देशक तथा निर्माता न हिरो स्वीकार्न तयार थिए, न उनीहरू हिरो भएका सिनेमालाई चलचित्र मान्न तयार थिए । त्यसैले उनीहरू आफैँ बनाउने, आफैँ घरमा डेक लगाएर घरमै टिभीमा लगाएर हेर्नु भन्ने ओठे जवाफ दिन्थे ।

‘लुट’ बनाएर उनलाई सेन्सर गराउनै संकष्ट भएको थियो । सेन्सर बोर्डले यो सिनेमा सेन्सर गर्नै मानिरहेको थिएन । एकातिर आम चलचित्रकर्मीले भिडियो फिल्म भनेर टिकाटिप्पणी गरिरहेको थियो । अर्कातिर राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट, भुवन केसीजस्ता स्टारका सिनेमा पनि चलिरहेको थिएनन् । त्यसैले नेपाली चलचित्र क्षेत्रमा सङ्कटकाल लगाउने तयारी थियो ।

आइतबारदेखि चलचित्र विकास बोर्ड सङ्कटकाल लगाउने तयारी थियो । निश्चल ‘लुट’ शुक्रबारबाट हलमा लगाउने तयारीमा थिए । त्यसैले यसै पनि यो सिनेमा चल्दैन, त्यसपनि दुई दिनको समय छ, किन सेन्सर गर्ने भनेर सेन्सरले भनिरहेका बेला निश्चलले चले चल्छ नचले चल्दैन भन्दै जबरजस्ती झगडा गरेर सेन्सर गराएका थिए ।

सिनेमामा प्रयोग भएको भाषालाई लिएर सेन्सर बोर्डसँग भएको डिस्कसको बेग्लै कथा छ उनीसँग । उनले आम नेपाली युवाले आफ्नो साथी सर्कलमा बोल्ने भाषा र स्ल्याङ प्रयोग गरेका थिए, जुन नेपाली चलचित्र उद्योगमा एक्सपेरिमेन्ट हुनु त परको कुरा सोच्न पनि कसैले सकिरहेका थिएनन् ।

उनको जिद्दीले सिनेमा सेन्सर भयो । चलचित्र रिलिज भयो । दुई दिन पछि लाग्न लागेको सङ्कटकाल लागेन । चलचित्र ब्लकबस्टर भयो । ‘लुट’ले नेपाली सिनेमा उद्योगको ट्रेन्डसेटर सिनेमा बन्यो । यसलाई फरक धारको सिनेमा भनियो । त्यसपछि लगातार यस्तै चलचित्र बन्न थाले । ‘लुट’बाट सुरु भएको फरक धार अहिले मुल धार बन्यो ।

तिनै निश्चल हुन्, अहिले नेपाली आम मेकरका आशा र भरोषाका केन्द्र । कसरी भने उनले निर्देशन गरेको चलचित्र गतवर्षको तिहारमा रिलिज भएको थियो, ‘दिमाग खराब’ । उनलाई त्यो समय पर्याप्त दिएको शो, समय र सेयरमा नेपाली निर्माता हेपाइ खेप्न बाध्य भएको भन्दै माग सम्बोधन नभए हलबाट सिनेमा उतार्ने चेतावनी दिएका थिए ।

विदेशी सिनेमा सरह नेपाली सिनेमालाई पर्याप्त शोज नपाए हलबाट सिनेमा उतार्ने निश्चलले चेतावनी दिएका थिए ।

“हाम्रो माग पूरा नभए हामी वैकल्पिक माध्यमबाट सिनेमा देखाउँछौँ किनभने हामी सकेसम्म धेरै दर्शकलाई यो चलचित्र देखाउन चाहन्छौँ,” उनले भनेका थिए, “यदि, विदेशी सिनेमा सरह नेपाली सिनेमालाई शोज नदिने हो भने चलचित्र लागुन्जेल निर्मातालाई ५० प्रतिशत सेयर दिनुपर्छ होइन भने हामी सिनेमा हलमा लगाउँदैनौँ ।”

गत वर्षसम्म पहिलो र दोस्रो हप्ता सिनेमा हल र निर्माताले ५०/५० प्रतिशत सेयर पाउँथे । तेस्रो हप्ताबाट निर्माताले ३५ प्रतिशत मात्रै सेयर पाउँथे ।

आफ्नो चलचित्रमा अकुपेन्सी बढेको भन्दै उनले भनेका थिए, “सुरुको दुई दिनमा अकुपेन्सी धेरै राम्रो थिएन । तर तेस्रो दिनबाट वर्डअफ माउथ राम्रो भएकाले अकुपेन्सी राम्रो छ । तर शोज कम हुँदा दर्शकले हेर्न पाउनु भएको छैन । विदेशी सिनेमाले ८-१० शोज पाउँदा नेपाली सिनेमाले २-३ शोज मात्रै पाउनु कहाँसम्म न्याय हो ?” भन्दै उनले प्रश्न गरेका थिए ।

त्यसपछि चलचित्र प्रदर्शक र निर्माता संघबीच पटकपटक सघन वार्ता भए । सहमति खोज्न समिति बन्यो । समितिले सिनेमा रिलिज भएदेखि नउत्रिँदासम्म निर्माता र प्रदर्शक (सिनेमा हल)ले समान ५०-५० प्रतिशत सेयर पाउने सहमति गर्‍यो । अहिले निर्माताले पहिलो हप्तादेखि अन्तिम हप्तासम्म ५० प्रतिशत सेयर पाउँछन् ।

अहिले फेरि निश्चलले विदेशी सिनेमाको भन्दा नेपाली चलचित्रको अकुपेनसी राम्रो हुँदा पनि विदेशी सिनेमालाई नै प्राथमिकता दिएर नेपाली चलचित्रलाई शो नदिएको भन्दै हलको विकल्प खोज्ने चेतावनी दिएका छन् ।

नेपाली चलचित्रको राम्रो प्रतिक्रिया, दर्शकको साथ र राम्रो रिभ्यु भए पनि हलले शो भने हिन्दी सिनेमालाई दिएको उनको आरोप छ ।

“राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाइँहरू चाहिँ हिन्दी सिनेमालाई नै शो दिइराख्नु है,” निश्चल भनेका छन्, “फिल्म आलुजस्तो हुँदा पनि । म चाहिँ हलको विकल्पतिर लागेँ ।”

निश्चलको लगानी तथा अभिनय रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’मा हिन्दी सिनेमाको भन्दा उच्च अकुपेन्सी भए पनि शो नदिएपछि अब हलको विकल्प खोज्नुपर्ने निष्कर्षमा उनी पुगेका छन् ।

सिनेमा उतारेर ओटीटीमा राख्ने उनको चेतावनी दिएका छन् । केही दिनमा सिनेमा उतारेर ओटीटीमा रिलिज गर्ने सोचमा आफू रहेको उनले बताइसकेका छन् ।

करोडौँ रुपैयाँ लगानी गरेर ८÷१० लाख रुपैयाँ उठाउन हलका लागि सिनेमा बनाउनुभन्दा ओटीटीलाई प्राथमिकतामा राखेर आगामी दिनमा सिनेमा बनाउने उनले चेतावनी दिएका छन् । भरपर्दो ओटीटी भएको अवस्थामा हलको विकल्प खोज्न सकिने र यसका लागि आफूले छलफल थालिसकेको उनले बताएका छन् ।

त्यसैले निश्चल जति क्रिएटिभ छन्, त्यति नै आँटी र शहासी छन् । अरुले उठाउन नसकेको विषय र आवाज उठाउन उनी डराउँदैनन् । आफ्नो सिनेमा जे सुकै होस्, त्यसको प्रवाह नगरी चलचित्रकर्मीका लागि लड्ने क्रान्तिकारी लडाकु हुन् निश्चल ।