‘छक्का पञ्जा–५’लाई उछिन्यो ‘१२ गाउँ’ले

काठमाडौं । दसैँको बिदा पारेर रिलिज भएका चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’मध्ये सुरुमा धेरै शो पाएको ‘छक्का पञ्जा–५’लाई ‘१२ गाउँ’ले उछिनेको छ ।

क्रमशः शो बढाउँदै गएको ‘१२ गाउँ’ले सातौं दिनमा ‘छकका पञ्जा–५लाई पछि पारेको हो । काठमाडौं उपत्यकामा आज क्यूएफएक्समा ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले एक शो कम ३१ शो पाएको छ ।

हिजो (मंगलबार) क्यूएफएक्सका काठमाडौंका आउटलेटमा यी दुई चलचित्रले बराबर शो पाएका थिए ।

सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले ३८ र ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।

अन्य मल्टिप्लेक्समा भने कुनैमा ‘छक्का पञ्जा–५’ नै अगाडि रहँदा केहीमा हलमा ‘१२ गाउँ’कै शो बढी छ । दुवै चलचित्रले आक्रामक ब्यापार गरिरहेका छन् । तर ‘छक्का पञ्जा–५’ले ब्यापार सार्वजनिक गरे पनि ‘१२ गाउँ’ले सार्वजनिक गरेको छैन ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो ।
‘छक्का पञ्जा–५’मा यसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिका छ । ‘१२ गाउँ’मा बिराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् ।

‘१२ गाउँ’मा विराज र समीरसँगै न्यान्सी खड्का, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।

आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको ‘छक्का पञ्जा–५’ दीपाश्री निरौला निर्देशित सिनेमा हो ।
सिनेमाको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् ।

हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गरेका छन् ।