‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने निश्चल–स्वस्तिमाको निर्णय

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने निर्णय यसको निर्माणपक्षले गरेको छ ।

निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ भोलिदेखि नेपालका कुनै पनि सिनेमाघरमा चलचित्र प्रदर्शन नहुने घोषणा गरेका छन् ।

चलचित्रका निर्माता तथा कलाकार समेत रहेका बस्नेतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन् “भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौँ ।”

यस्तै, यो चलचित्रलाई उनले चाँडै ओटीटीमा रिलिज गर्ने बताएका छन् । एसएमएस भिडियोमार्फत सिनेमा रिलिज हुन लागेको बस्नेतले बताएका छन् । यसका साथै, उनले यो एपबाट अमेरिका, जापान, क्यानडा, र सिंगापुरमा भने हेर्न नमिल्ने जानकारी पनि दिएका छन् ।

केही दिनअघि मात्रै निश्चलले हिन्दी चलचित्रहरूमा दर्शकको कमी भए पनि शोज दिइएको तर आफ्नै चलचित्रलाई शोज नदिएको प्रति असन्तोष व्यक्त गरेका थिए । उनले यस समस्याले गर्दा हलहरूको विकल्प खोज्ने चेतावनी पनि दिएका थिए ।

‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमा खड्काको लगानी छ । सिनेमाको मुख्य भूमिकामा पनि निश्चल र स्वस्तिमा नै छन् ।

यो पनि पढ्नुहोस्

निश्चल अर्थात् एक क्रान्तिकारी लडाकु

निश्चल बस्नेतले किन दिए हलहरूको विकल्प खोज्ने चेतावनी ?