karsang
Close Me

कार्तिक १५ बाट पोस्टपोण्ड भयो ‘एक्टर’, अब कहिले प्रदर्शन होला ?

काठमाडौं। चलचित्र ‘एक्टर: टेक वन’ तीन महिना पछाडि सारिएको छ । यसअघि लक्ष्मीपूजाको दिन कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पोस्टर र टिजर सार्वजनिक भइसकेको भए पनि सिनेमा अब माघ १६ गते रिलिज गरिने भएको छ।

निर्माण कम्पनी अदृत फिल्म्सले बिहीबार विज्ञप्ति जारी गर्दै मानवीय र प्राविधिक समस्याका कारण चलचित्रको मिति सार्न बाध्य भएको जानकारी दिएको हो ।

निर्माताहरूले नयाँ प्रदर्शन मितिमा माघ १६ गतेलाई छानेका छन्, जुन शहीद दिवसको विदा परेको दिन हो । त्यसैगरी माघ १७ गते सोनाम लोसारको पनि विदा भएकाले ‘एक्टर’ले दुई दिनसम्म विदाको फाइदा लिन सक्नेछ। अहिलेसम्म यो मितिलाई अन्य कुनै फिल्मले बुक गरेको छैनन् । माघ ११ गते ‘के घर के डेरा: घर नम्बर २’ प्रदर्शनमा आउने तयारीमा रहेको छ, जसले ‘एक्टर’लाई केही समयको एकल प्रदर्शन अवसर दिने देखिन्छ ।

राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टर: टेक वन’मा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, र सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

दिव्या रायमाझीले यस चलचित्रबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् । उनी चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । चलचित्रमा राजबल्लभ कोइरालाले करिब १० वर्षपछि कमब्याक गरेका छन् ।

यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो । निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् ।