पहिलो सातामा ‘१२ गाउँ’को १० करोड ५ लाख ग्रस
काठमाडौं । चलचित्र ‘१२ गाउँ’ले आफ्नो पहिलो हप्ताको बक्सअफिस ग्रस कलेक्सन सार्वजनिक गरेको छ ।
फूलपातीको दिन रिलिज भएको यो चलचित्रले एक हप्तामा १० करोड ५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।
‘१२ गाउँ’ले पहिलो सातामै हाउसफूल व्यापार गरेको जानकारी दिँदै गोविन्द शाहीले भने, “हामीले चलचित्रले एक हप्तामा १० करोड ५ लाख कलेक्सन गरेका छौं, चलचित्रको कलेक्सन रिपोर्ट निकै सकारात्मक देखिएको छ र यसले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ।”
उनले थप जानकारी दिँदै भने, ‘यो सुरुआती कमाइ मात्र हो र आगामी दिनहरूमा यसको कलेक्सन अझै बढ्ने अनुमान गरिएको छ। आगामी दिनको विस्तृत कलेक्सन रिपोर्ट चरणबद्ध रूपमा सार्वजनिक गर्दै जाने बताए ।
बिराज भट्टद्वारा निर्देशित एक्शन र ड्रामा प्रधान चलचित्र ‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा देखिएका छन्, जुन सिनेमा दर्शकमाझ निकै रुचाइएको छ ।
सिनेमामा न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको समेत अभिनय रहेको छ ।
‘१२ गाउँ’को यो सफलता नेपाली सिने उद्योगका लागि एक उदाहरण बनेको छ । दर्शकहरूले यस सिनेमालाई अत्यधिक रुचाइरहेका छन् र हरेक दिन यसको चर्चा बढ्दै गइरहेको छ ।
फूलपातीको दिन रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ ले पनि पहिलो सातामै १० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यसले नेपाली चलचित्र उद्योगमा उत्साहजनक प्रतिस्पर्धा देखिएको छ । दुवै चलचित्रलाई दशैंको माहोलमा दर्शकले ठूलो उत्साहका साथ हेरेका छन्, जसले गर्दा दुई चलचित्रको व्यापार निकै राम्रो भएको छ ।
दर्शकहरूको उत्साह र चलचित्रको राम्रो प्रदर्शनले गर्दा दुवै चलचित्रको कलेक्सन अझै बढ्ने देखिएको छ । नेपाली चलचित्र उद्योगमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ बीचको यो प्रतिस्पर्धा अबको केही हप्तासम्म कायम रहन सक्ने देखिएको छ ।