दीपकराज गिरी भन्छन्- ‘छक्का पञ्जा-५’को टिकट काटेर बसेका दर्शकलाई धम्की आयो
काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले अघिल्ला सिरिजहरूलाई पछि पार्दै ‘छक्का पञ्जा–५’ले कलेक्सन गरिरहेको बताएका छ । प्रदर्शनको नवौँ दिनमा ११ करोड नजिकको यात्रा गरिरहेको बताए ।
गिरीले अघिल्ला सिरिजभन्दा धेरै कमाइ ओपनिङ र पहिलो दिनमा गरे पनि आफू खुसी नरहेको उनको भनाइ छ । पैसा झोलीमा आए पनि खुसी भने नभएको आज एक पत्रकार सम्मेलन गर्दै उनले जानकारी दिए ।
आफू, आफ्नो टिम र चलचित्रलाई आएको गालीका कारण आफू दुखी भएको उनले बताएका छन् । आफ्नो चलचित्रसँगै रिलिजमा आएको अर्को चलचित्रले पनि कमाइरहँदा दुवैले जिते पनि चलचित्र उद्योगले भने हारिरहेको उनको बुझाइ छ ।
अहिले नेपाली चलचित्र उद्योगमा नेगेटिभिटीको विकास भएको उनको भनाइ छ । यसमा चलचित्रकर्मीको नै हात रहेको भन्दै सबै सच्चिननु पर्नेमा दीपकको जोड छ ।
‘छक्का पञ्जा’को निर्देशक, आफू र आफ्नो टिमका कलाकारलाई गाली आइरहेको उनले बताए । ‘छक्का पञ्जा’ राम्रो छ भनेर फेसबुकमा समेत लेख्नसक्ने अवस्था नरहेको उनी सनाउँछन् । अष्ट्रेलियामा त टिकक काटेर बसेका दर्शकलाई समेत ‘छक्का पञ्जा’ हेर्न नजान धम्की आएको उनले जानकारी दिए । अष्ट्रेलियाबाट वितकरले टिकट काटेर बसेका दर्शकले ‘छक्का पञ्जा’ हेर्न नजान धम्की दिएको भनेर आफूलाई फोन आइरहेको दीपकको भनाइ छ ।
यद्यपि, दर्शकसँग आफ्नो सम्बन्ध ३० वर्षदेखि रहेको भन्दै दर्शकको आशीर्वाद सधैँ पाएको र अब पनि पाइरहने उनको भनाइ छ ।
आफ्ना स्टाटस र सिनेमाका सामग्रीमा पनि गाली आइरहेको उनले बताए । जिन्दाबाद र मुर्दाबाद तथा पक्ष/विपक्षले नेपाली सिनेमालाई अगाडि नबढाउने उनको भनाइ छ । अस्वस्थ प्रतिस्पर्धा तिव्र रुपमा फैलिरहेको भन्दै उनले आफूहरु घमण्डी कहिल्यै नरहेको तर कमजोरी भए माफी माग्न सधैँ तयार रहेको बताए ।
महानायकको प्रसंगमा दीपाश्री निरौलाले माफी मागिसकेको अवस्थामा त्यही विषयलाई लिएर गाली गर्नु न्यायोचित नभएको उनको भनाइ छ ।
दीपकले चलचित्र उद्योगमा एक्सन, कमेडी, लभस्टोरी सबै सिनेमा चल्नुपर्ने बताए । एक्सन सिनेमा ‘१२ गाउँ’ चल्दा आफू खुसी रहेको उनको भनाइ छ । चलचित्र क्षेत्रमा नयाँ नयाँ कलाकारको प्रवेश भइरहने भन्दै उनले कोही न कोही आउने बताए ।
दीपकले समीर भट्टको आगमनको स्वागत गर्दै शुभकामना पनि दिए । यद्यपि, उनले नाम भने लिएनन् ।
फूलपातीको दिन रिलिजमा आएका ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ एक साताको रिपोर्ट सार्वजनिक गरिसकेका छन् । ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड ‘१२ गाउँ’ १० करोड १० करोड ५ लाख कलेक्सन गरेको दाबी गरेका छन् ।