‘पुष्पा २’ले बनायो प्रि-कलेक्शनको नयाँ रेकर्ड

काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ले रिलिज अघि नै ठूलो आर्थिक सफलता हात पारेको छ ।

डिसेम्बर ६ मा रिलिज हुने तयारीमा रहेको अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर अभिनीत बहुप्रतिक्षित यो सिनेमाले प्रि-कलेक्शनमा ९ सय करोड भारू कमाएको छ, जुन दक्षिण भारतीय चलचित्र उद्योगका लागि नयाँ कीर्तिमानी सफलता हो ।

टाइम्स अफ इण्डियाका अनुसार ‘पुष्पा २: द रुल’ले डिजिटल र स्याटेलाइट अधिकार बिक्री गरेर नै यो रेकर्ड कायम गरेको छ ।

पाँच सय करोड भारूको लागतमा बनेको यस चलचित्रको थियट्रिकल अधिकार ६५० करोडमा बिक्री भएको बताइएको छ। पुष्पा २: द रुल को ओटीटी र स्याटेलाइट अधिकार कसले प्राप्त गरेको हो भन्ने आधिकारिक घोषणा भने बाँकी छ ।

चलचित्रका निर्देशक सुकुमार हुन् भने प्रमुख भूमिकामा अल्लु अर्जुन, रश्मिका मन्डन्ना, फहद फासिल लगायतका चर्चित कलाकार रहेका छन् ।

अल्लु अर्जुनको अभिनय र नयाँ अवतारलाई फ्यानहरूले अत्यधिक रुचाएका छन् । यसअघि रिलिज भएको चलचित्रको पहिलो भाग ‘पुष्पा: द राइज’ ले पनि ठूलो सफलता हात पारेको थियो, जसबाट अभिनेता अल्लु अर्जुन र संगीतकार देवी श्री प्रसादले नेशनल अवार्ड जितेका थिए ।

यस चलचित्रलाई तेलुगु, हिन्दी, तमिल, कन्नड, बंगाली र मलयालम भाषामा एकसाथ रिलिज गर्ने तयारी छ। यसअघि फिल्मलाई १५ अगस्ट, २०२४ मा रिलिज गर्ने घोषणा गरिएको थियो तर छायांकन र पोस्ट प्रोडक्सनको काम नसकिएकाले मिति सारेर डिसेम्बर ६ लाई तय गरिएको छ ।

‘पुष्पा २: द रुल’मा पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्न दर्शकहरू अधैर्य भइरहेका छन् । यो सिनेमा रिलिजपछि अन्य धेरै चलचित्रको रेकर्डहरू यसले तोड्ने अनुमान लगाइएको छ ।