‘पूजा, सर’को कार्यकारी निर्मातामा जोडिए अनुराग कश्यप
काठमाडौं । बलिउडका चर्चित निर्देशक अनुराग कश्यप नेपाली चलचित्र ‘पूजा, सर’को कार्यकारी निर्माताका रुपमा जोडिएका छन् ।
निर्देशक दीपक रौनियार निर्देशित यस सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण सफलता हात पार्दै विश्व प्रतिष्ठित फेस्टिभलहरुमा सहभागीता जनाइरहेका बेला निर्देशक कश्यप कार्यकारी निर्मातामा समेटिएका हुन् ।
हलिउड म्यागजिन भेराइटीले यस बारेका समाचार प्रकाशित गरेको छ । अनुराग कश्यप जो बलिउडमा सफल निर्देशक र कलाकारका रूपमा चिनिन्छन्, यस प्रोजेक्टमा संलग्न हुनुले ‘पूजा, सर’को चर्चा अझ चुलिएको छ ।
अनुरागले ‘ग्याङ्स अफ वासेपुर’ जस्ता चलचित्रहरूबाट निर्देशनमा आफूलाई स्थापित गरेका छन् । साथै, उनी अभिनीत पछिल्लो सिनेमा ‘महाराजा’ले पनि राम्रो प्रतिक्रिया पाएको थियो । यसअघि उनी नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएका थिए ।
‘पूजा, सर’ले यस वर्षको सुरुवातमा भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भई १० मिनेटसम्मको ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गरेको थियो । साथै, मुम्बई फिल्म फेस्टिभल र बुसान फिल्म फेस्टिभलमा पनि फिल्मको प्रदर्शन भएको छ ।
सत्य घटनाबाट प्रेरित यस चलचित्रमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा अपहरणमा परेका दुई बालकको खोजीको कथा प्रस्तुत गरिएको छ ।
यो सिनेमाको निर्माण दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र ट्यानहौसर गेटका लागि एलन आर. मिलिगनले गरेका हुन् ।
सिनेमामा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘पूजा, सर’लाई नेपाल र विश्वका विभिन्न देशमा प्रदर्शनका लागि तयारी गरिँदै छ, तर नेपालको प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । यो सिनेमाको यूके र आयरल्यान्डमा वितरण अधिकार च्यानल फोरले खरिद गरिसकेको छ ।