पूजा शर्मा र सुष्मा कार्कीको दुश्मनी सकिएको हो ?

काठमाडौं । अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीबीचको लामो दुश्मनी समाप्त भएको छ भन्ने खबरले हालसालै निकै चर्चा पाएको छ ।

कुनै समय एकअर्काको नाम पनि सुन्न नचाहने यी दुई अभिनेत्रीसँगै टिकटक भिडियोमा देखिएपछि उनीहरूको सम्बन्धमा सुधार आएको अड्कल गरिएको हो । उक्त टिकटक भिडियोमा एक दशक लामो दुश्मनी अन्ततः मित्रतामा बदलिएको संकेत देखिएको छ ।

सुष्मा कार्कीले आफ्नो “सुष्मा कार्की २०२३” नामक टिकटक अकाउन्टबाट एक भिडियो सार्वजनिक गरेकी छिन्, जहाँ उनीहरू “हुआ मुझे भी प्यार हुआ” हिन्दी गीतमा अँगालो हाल्दै टिकटक बनाएको देखिन्छ ।

भिडियोको क्याप्शनमा “स्वीटहार्ट” लेखिएको छ, जसले पनि उनीहरूको सम्बन्धमा सुधार आएको सङ्केत गरेको छ । कुनै समय एकअर्काको नामसम्म सुन्न नचाहने यी दुई अभिनेत्री अहिले टिकटक भिडियोमा एकदमै सहज देखिन्छन् । भिडियोको पृष्ठभूमिमा पूजाले सञ्चालन गर्दै आएको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्ट देख्न सकिन्छ । सुष्मा पूजालाई भेट्न त्यहाँ पुगेको अनुमान गरिएको छ ।

दर्शकहरूले यस भिडियोले हेरेर उनीहरूको मिलनलाई आश्चर्यको रूपमा लिएका छन् भने धेरैले उनीहरुको मिलनलाई सकारात्मक रुपमा लिएको देखिन्छ ।

सुष्मा र पूजाको दुश्मनी लगभग एक दशक लामो थियो । उनीहरूबीचको दुश्मनीको सुरुवात निर्देशक सुदर्शन थापाको चलचित्रमा सुष्मालाई हटाएर पूजालाई कास्ट गरेपछि तिक्तता सुरु भएको थियो । त्यसयता उनीहरु फिल्म क्षेत्रका सबैभन्दा ठूला दुश्मनका रुपमा चिनिन्थे भने मिडियामा दुवैले एकअर्कामाथि कडा टिप्पणी गर्दै आएका थिए ।

तर, रेखा थापाको चलचित्र ‘उपहार’ मार्फत उनीहरू नजिक आएका हुन् । चलचित्रको केही सिनमा उनीहरूलाई सँगै देख्न सकिन्छ, र सोही चलचित्रको कामका क्रममा उनीहरूबीच सम्बन्ध सुधार भएको बताइन्छ ।

सुष्मा कार्की हालै दसैं मनाउन अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् र नेपाल फर्किएपछि पूजालाई भेट्न गएकी हुन्। उनीहरूको टिकटक भिडियो सार्वजनिक भएपछि अब दुश्मनी सकिएको र मित्रताको सुरुवात भएको अनुमान गरिएको छ ।

यद्यपि, यी अभिनेत्रीहरूले सार्वजनिक रूपमा आफ्नो सम्बन्धबारे बोलेका छैनन्, तर उनीहरूको टिकटक भिडियोले यो दुश्मनीको अन्त्य भएको स्पष्ट सङ्केत गरेको छ ।