karsang
Close Me

चलचित्र ‘राजागंज’ प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘राजागंज’ चैत १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । यो चलचित्रले विश्वभरका ठूला फिल्म महोत्सवहरू, जस्तै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

नेपालमा भने ‘राजागंज’ शीर्षकमा प्रदर्शन हुँदैछ, जबकि अन्तर्राष्ट्रिय रूपमा यसलाई ‘पूजा, सर’ नामले प्रिमियर गरिएको थियो ।

यो चलचित्रको निर्माण दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्स र ट्यानहौसर गेटले गरेका हुन् । सिनेमाका प्रमुख निर्माताहरूमा रामबाबु गुरूङ, अभिनेता दयाहाङ राई, एलन आर. मिलिगन लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यप जोडिएका छन् । 

दीपक रौनियारको निर्देशनमा बनेको यो चलचित्रले नेपाली दर्शकलाई नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ । सत्य घटनाबाट प्रेरित यस चलचित्रमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा अपहरणमा परेका दुई बालकको खोजीको कथा प्रस्तुत गरिएको छ ।

सिनेमामा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक दीपक रौनियारका अघिल्ला चलचित्रहरू हाइवे र ह्वाइट सन समीक्षकहरूमाझ निकै रुचाइएका थिए । रौनियारलाई सन् २०१७ मा अमेरिकी अखबार न्यूयोर्क टाइम्स ले हेर्नै पर्ने विश्वका नौ निर्देशकहरूको सूचीमा राखेको थियो । उनले लोकार्नो र सिड्नी जस्ता प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पनि जुरीको भूमिका निभाइसकेका छन् ।

यो चलचित्रले नेपालभित्रको सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गर्दै विदेशी महोत्सवहरूमा समेत विशेष चर्चा बटुलिसकेको छ । नेपालमा प्रदर्शन भएपछि कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो राखिएको छ ।

चलचित्रको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशमा प्रदर्शन अधिकार महंगो मूल्यमा बिक्री भइसकेको निर्माण पक्षले जानकारी दिएको छ । यो सिनेमाको यूके र आयरल्यान्डमा वितरण अधिकार च्यानल फोरले खरिद गरिसकेको छ ।