छायाकंनमा निस्कियो सलोनको ‘रंगी’
काठमाडौं । अभिनेता सलोन बस्नेतको प्रस्तुति रहने चलचित्र ‘रंगी’ को छायांकन सुरु भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकनमा निस्किएको हो ।
यसै वर्ष रिलिजको तयारी गरिएको सिनेमाको छायांकन अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । यसको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुने बताइएको छ ।
बाबु-छोरीको सम्बन्धमा आधारित कथालाई चित्रण गर्ने बताइएको यस चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन्, यो उनको लागि निर्देशनको पहिलो अनुभव (डेब्यू) हुनेछ ।
निर्देशक न्यौपानेले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चलचित्रहरूमा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् ।
सिनेमाको कलाकारमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी लगाएत रहेका छन् । पूर्व मिस नेपाल ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रताले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् ।
सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहनेछ ।