karsang
Close Me

चलचित्र हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौं । चलचित्र हलहरूमा एमआरपी (अधिकतम खुद्रा मूल्य) भन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाउने भएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चलचित्र हलमा पानी र अन्य खाद्य सामग्रीहरूलाई अधिकतम खुद्रा मूल्यभन्दा महँगोमा बिक्री गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै चलचित्र हलहरूमा भएको अनुगमनको क्रममा बढी मूल्य लिइएको पाइएमा कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।

‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने तथा उपभोक्ताको हक अधिकारको रक्षा गर्ने उद्देश्यले यो कदम चालिएको हो’, उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोहि क्रममा यस विषयमा सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच छलफल र अन्तरक्रिया भएको जनाइएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरेको छ ।

यस्तै, विभागले विशेष गरी चाडपर्वको समयमा बजारमा हुने ठगी तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाएको छ ।

विभागले अनुगमन टोलीहरू परिचालन गर्दै बजारमा उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्ने कार्यलाई प्राथमिकता दिएको छ । चाडपर्वको समयमा हुने अव्यवस्थित मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि विशेष योजना अनुसार कार्य भइरहेको विभागले जनाएको छ । file photo