साम्राज्ञीजी ६० लाखको भिडियो त खेल्नु भएछ सिनेमा चाहिँ कहिले ?
काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा कमै मात्रै देखिने कलाकार हुन् । समकालीनहरू म्युजिक भिडियोमा बाक्लै देखिँदा उनी भने म्यसजिक भिडियोमा खासै देखिइनन् ।
तर, भर्खरै उनले म्युजिक भिडियोमा अभिनय गरेको अखबर सार्वजनिक भएको छ । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो लगानीमा भिडियो छायांकन गरिएको र त्यसमा साम्राज्ञीले अभिनय गरेको खबर छ ।
दशैँअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाखभन्दा बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताएका छन् ।
यो भिडियोको शीर्ष भूमिकामा साम्राज्ञी र विशाल खरेलले अभिनय गरेका छन् । बुधबार छायांकनका केही तस्वीरहरु फर्ष्टलुक शोरुप स्टील फोटाहरू सार्वजनिक गरिए । जसमा साम्राज्ञी निकै बोल्ड देखिएकी छन् । उनीसँगै अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्बिरमा देख्न सकिन्छ ।
यो गीतको एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको बताइएको छ ।
गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ । नेपाली सिनेमाका निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् ।
यो गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ ।
सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।
साम्राज्ञीले यो भिडियोका लागि कति पारिश्रमिक लिइन्, खुलाइएको छैन । तर उनले मोटो पारिश्रमिक लिएको अनुमान भने सहजै लगाउन सकिन्छ ।
‘लण्डन टु पेरिस’ पछि साम्राज्ञीको सिनेमा आएका छैनन् । उनीसँग हातमा पनि अहिले खासै सिनेमा छैनन् । रहेको ‘रुमानी रङ्ग’ हो । यसको पनि निर्देशकदेखि लेखकसम्म परिवर्तन भएकाले बन्छ कि बन्दैन टुंगो छैन । त्यसैले साम्राज्ञीजी ६० लाखको भिडियो त खेल्नु भएछ सिनेमा चाहिँ कहिले ? भनेर दर्शकले प्रश्न गर्न बेर छैन । फिल्ममा पनि ध्यान दिने हो कि । तपाईं त खासमा नायिका हो नि, मोडल त होइन नि, कि कसो ?
एक पटकमा आठ/नौवटा स्क्रिप्ट आउँछन् । तर राम्रा आउँदैनन्, त्यसैमध्येबाट छानेर एउटा गर्ने हो भन्नुहुन्थ्यो । त्यही पनि राम्रो आउन छाडेको हो ?
कि टाइपकाष्ट भएँ भनेर फिल्म खेल्नै छोड्नु भएको हो । पातलै भए पनि फिल्म खेल्न चाहिँ नछोड्नुस् है, दर्शकले बिसलान् नि !