बल्छी धुर्बेको ‘राधा कृष्ण’ अब आफ्नै च्यानलमा
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन तथा निर्देशनमा बनेको टेलिभिजन सिरियल ‘राधा कृष्ण’को प्रसारण समय र युट्युब च्यानल हेरफेर गरिएको छ । यसअघि हरेक शुक्रबार प्रसारण हुँदै आएको सिरियल अबदेखि हरेक बिहीबार सार्वजनिक हुने भएको छ ।
निर्माण पक्षका अनुसार प्राविधिक कारणले सिरियलको प्रसारण दिनमा परिवर्तन गरि बिहीबार गर्ने निर्णय गरिएको हो । सातौं एपिसोड बिहीबार सार्वजनिक भएपछि दर्शकलाई नियमित रुपमा हरेक बिहीबार नयाँ भाग हेर्न पाइने जानकारी दिइएको छ । साथै, सिरियल प्रसारण हुने युट्युब च्यानल पनि परिवर्तन गरिएको छ । अब ‘राधा कृष्ण’ सिरियल बल्छी धुर्बेको आधिकारिक च्यानल ‘बल्छी धुर्बे’ बाट सार्वजनिक गरिने छ ।
बल्छीले यस निर्णयबारे बताउँदै भने, “हाम्रो आन्तरिक कारणले च्यानल परिवर्तन गर्नुपर्ने भयो, पूर्वघोषणा गरिएको च्यानलमा प्रसारण गर्न नसकेका कारण दर्शकसँग क्षमाप्रार्थी छौं ।”
माओवादी सशस्त्र संघर्षको घटनामा आधारित यस सिरियल भदौ २८ गतेबाट प्रसारणमा आएको हो । सिरियलले दर्शकको राम्रो साथ पाइरहेको छ र यसमा बल्छी धुर्बेसहित पुजन घिमिरे, उत्तम केसी, विशाल पहारी, रोश्नी सापकोटा र सिरु बिष्टको पनि अभिनय रहेको छ।