karsang
Close Me

‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’

काठमाडौं । घनश्याम लामिछानेको निर्देशित चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको सिनेमाको सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ ।

धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत रहेका छन् ।

विवाहको सेटअपमा तयार परिएको ‘दाइ दाइ नभन’को भिडियोमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ, जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ। भिडियोमा रमा त्रिपाठी लूठो बनेकी छन् ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक यो चलचित्र आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।

यस चलचित्रलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।

निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताउँछन् । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनी भन्छन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।

चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले सिनेमालाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन् । उनका अनुसार सिनेमा अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षसमेत रहेका कोविदचरण उपाध्ययले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो सिनेमा बनाइएको बताए ।

संस्थागत रूपमा निर्माण गरिएको सिनेमा भएकाले यस निर्माता कोही पनि नरहेको प्रतिष्ठानका अध्यक्ष उपाध्यय बताउँछन् । यस सिनेमाको विशिष्ट संरक्षकको रूपमा भुवनेश्वर पौडेल र मोहन राज पौडेल रहेका छन् ।

चलचित्रको मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको यो सिनेमालाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् ।

यस्तै, केही समय अघि यो सिनेमा भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।