आगो ओकल्न बन्द गर, इगो होइन एकता देखाऊ

नेपाली चलचित्रमा एकताभन्दा पनि विग्रह छ, मेलभन्दा धेरै बेमेल छ । आपसी झगडा र बैमनस्यता छ, इगो छ । र त्यही इगोको लडाइँ हमेशा भइरहेको छ । बाह्रै महिना नेपाली सिनेमा उद्योगमा इगोको लडाइँ हुन्छ । त्यसको परिणाम स्वयं चलचित्रकर्मीले त भोगेकै छन् । चलचित्र क्षेत्र गिर्दो अवस्थामा छ, क्वालिटी खस्किदो छ ।

विशेषगरी सिनेमा प्रदर्शनमा अथवा रिलिज डेटमा बेमेल र इगोले काम गरिरहेको छ । र, सिनेमाको प्रचारप्रसारमा पनि इगोको लडाइँ छ । यसले चलचित्रकर्मी मात्रै होइन समग्र नेपाली सिने उद्योगमा नै असर गरिरहेको छ ।

एकै दिनका लागि धेरै चलचित्रले रिलिज डेट लिनु वा लिन खोज्नु, एकै दिन प्रदर्शनमा आउनु इगोकै कारण हो । यसरी इगो साँध्नेमा वितरक, कलाकार, निर्देशक र निर्माता हुने गरेका छन् ।

जुन समाज, संस्था वा क्षेत्रमा एकता हुँदैन त्यस क्षेत्रको विकास हुँदैन । व्यक्तिगत प्रयासभन्दा सामुहिक प्रयासले राम्रो काम हुन्छ, सकारात्मक परिणाम दिन्छ । यसको टड्कारो अभाव नेपाली चलचित्र उद्योगमा देखिन्छ । त्यसो त यो नयाँ समस्या होइन ।

बेमेल, बैमनस्य जहाँ हुन्छ, त्यहाँ दोस्रो व्यक्ति वा पक्षले खेल्ने सम्भावना उच्च हुन्छ । ‘भाइ फुटे गवार लुटे’ भन्ने उखान नेपाली चलचित्र उद्योगमा लागु भइरहेको छ ।

कलाकार–कलाकार, निर्माता–निर्माता र निर्देशक–निर्देशकबीचको वैमनस्य र इगोको फाइदा वितरकले लिइरहेका छन् । उनीहरूको उक्साहट र योजनामा सिनेमा जुधिरहेका छन् । सम्भावित एकता र सहकार्यको सम्भावना टुटिरहेको छ ।

अरुको उक्साहटमा लागेर आफ्नै सहकर्मीहरूसँगको सम्बन्ध त बिग्रिरहेको छ, सहकार्य गरेर राम्रो चलचित्र निर्माणको सम्भावना पनि गुमाइरहेका छन् । निर्माताहरूले इगोकै कारण लगानी डुबाइरहेको त जगजाहेर छँदैछ ।

धेरै अगाडि जानै पर्दैन बेमेल कतिसम्म छ र कसरी एकअर्काविरुछ खनिन्छन् भन्ने ‘छक्का पञ्जा’ टिम र ‘१२ गाउँ’को टिमले देखाइसकेको छ ।

यसैसँग जोडिएर आएका सन्तोष सेनले ओकलेको आगोले प्रष्ट पारिसकेको छ । यो आगोले डडाउने दर्शकलाई होइन स्वयं चलचित्रकर्मी र चलचित्र उद्योगलाई हो ।

यो तथ्यलाई बेलैमा नबुझे नेपाली चलचित्र उद्योगले उँभोगति होइन अधोगति लिने निश्चित छ । चलचित्र क्षेत्रबारे मनैबाट सोच्ने हो र यसको भलो चाहने हो भने फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ ।

अरुको चलचित्रलाई पनि आफ्नै चलचित्रसरह ठानेर सहयोग गर्नुपर्छ । सके सहयोग नसके सद्भाव त राख्न सकिन्छ । त्यसैले अरुलाई छिर्के हानेर लडाउने होइन कसरी हातेमालो गरेर अगाडि बढ्ने भन्ने सोच्नुपर्नेछ । होइन भने नेपाली चलचित्र उद्योगलाई झनझन धरासायी हुनबाट कसैले रोक्न सक्दैन ।