‘पूर्ण बहादुरको सारङ्गी’ र विजयको सिने करिअरको रुपान्तरण
काठमाडौं । अभिनेता विजय बरालको सिने करिअरकै मुख्य भूमिकाको पहिलो सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ हो । जसले गन्धर्व समुदायको कथा भन्छ । उनीहरूले बजाउने सारङ्गीको कुरा गर्छ ।
सारङ्गी बजाउने पेशा र यसको पुस्तान्तरणको कुरा गर्छ । र यही पुस्तान्तरण सँगै रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने कुरा गर्छ । आफ्ना सन्तानलाई कसरी अगाडि बढाउने भन्ने कथा यो सिनेमाले भन्छ ।
यो सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदीले मुख्य भूमिकामा अभिनेता वियय बराललाई लिए । उनीहरूले यो कथा भन्न विजयलाई उययुक्त अभिनेता देख्दा र रोज्दा विजयको करिअरमा लिड गर्ने पहिलो सिनेमा नै यही बन्यो ।
विजय यसलाई अवसर र जिम्मेवारीका रुपमा आफूले लिएको बताउँछन् । एउटा फरक पाटोको ढोका उघारिदिने उनले अपेक्षा गरेका छन् । एउटा फरक कथाको र अर्को आफ्नै करिअरमा सिनेमामा मुख्य भूमिकाको ।
“पुस्तान्तरणसहितको रुपान्तरण यो सिनेमाको कथा सार हो । बाउले छोराका लागि देखेको सपनाको कथा हो यो सिनेमा,” विजय भन्छन्, “सिनेमा भन्नबित्तिकै केही कथा हुनुपर्छ, यो सिनेमाले भन्ने पनि यही नै हो ।”
बाउ र छोराको इमोसन र संघर्ष तथा सपना र उतारचडाव यो चलचित्रको यात्रा रहेको उनी सुनाउँछन् ।
“यो सिनेमामा केही कुरा छ, जुन हेर्दा हरेक दर्शकलाई महसुस हुन्छ,” उनले भने ।
आफू पहिलोपटक मुख्य भूमिकामा रहँदा केही फरक अनुभव र जिम्मेवारीमा रहेको विजय बताउँछन् । अभिनय गर्ने मात्रै हाम्रो काम हो भन्ने मान्यताबाट सिनेमा चलाउन पनि मेरो भूमिका हुन्छ र हुनुपर्छ भन्ने जिम्मेवारीबोधले अहिले काम गरिरहेको छ ।
“सधैँ छेउमा बसेर काम गरिरहेको अहिले आफैँ अगाडि लागेर काम गर्दा केही गाह्रोजस्तो भइरहेको छ । तर यो मेरो जिम्मेवारी पनि हो । यसले मलाई फाइदा पनि गरिरहेको छ,” उनले भने, “सुरुमा अफर आउँदा गर्ने कि नगर्ने सक्नु कि सक्दिन भन्ने भयो । दुई हप्ता त मैले होल्ड पनि गरेको हो । तर थिएटरमा मैले वृद्धको क्यारेक्टर गरिसकेकाले ओके गरेको हुँ ।”
मिडल एजको क्योक्टर गर्न सहज भए पनि बृद्धअवस्थाको क्यारेक्टर गर्न भने सुरुमा केही असहज भएको उनले स्मरण गरे ।
गन्धर्व क्यारेक्टरका लागि सारङ्गी बजाउन आफूले सिकेको उनले स्मरण गरे । १० दिन लगाएर सारङ्गी बजाउन सिकेको उनले जानकारी दिए । “कसरी धुन निकाल्ने, औंला कसरी तारमा राख्ने र चलाउने, ल्यान्डिङ कसरी गर्नेजस्ता कुरा सिकेको हो,” पूरै बजाउन त के आउँथ्यो, दश दिनमा सबै जान्ने कुरा पनि भएन ।”
चलचित्र तिहारको छेको पारेर कात्तिक १५ गतेबाट रिलिज हुँदैछ छ ।
सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् ।
निर्माता विनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।