बलियो ‘स्टारकास्ट’ लिएर छायांकनमा निस्कियो ‘जेरी अन टप’
काठमाडौं । चलचित्र ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । निर्माण टिमले सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकनका लागि निस्किएको हो ।
मुहूर्त कार्यक्रममा सिनेमाका प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा) र बिपना थापा सहभागी थिए ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जेरी अन टप’को छायांकन स्थल काठमाडौं, लुक्ला र भारतको लद्दाख तय गरिएको छ ।
निर्माता सरोज न्यौपानेका अनुसार सिनेमाको छायांकन पहिलो चरणमा धुलिखेलमा सुरु भएको छ, जहाँ तीन दिन लगाएर दृश्य खिचिनेछन् । त्यसपछि टिम काठमाडौँमा छायांकन गरेर लुक्ला र भारतको लद्दाखमा पुग्ने योजना रहेको छ ।
चलचित्रलाई ६० दिनमा सक्ने योजना अनुसार काम भइरहेको र यसको अनुमानित बजेट ३ करोड रहेको छ ।
चलचित्रको निर्मातामा सरोज न्यौपाने रहेका छन् भने दिपक भण्डारी, रोबिन सेरचन, र रामकृष्ण श्रेष्ठले सह-निर्माताको भूमिका निर्वाह गर्नेछन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताको रुपमा रहेका छन् ।
सुयोग गुरुङको निर्देशन रहने यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तु बनाएको छ ।
यस फिल्मको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा विश्व तिमिल्सिनाको हुनेछ । रीतसिंह बोहराले मुख्य सहायक निर्देशकको भूमिका निभाउनेछन्, उज्जल जोशीले छायांकनको जिम्मा सम्हाल्नेछन् भने सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् ।
चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्, र उनका पिता भुवन केसीले अनमोलको बुवाकै भूमिकामा अभिनय गर्नेछन् । जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगिता मगर, र सुष्मा निरौला सिनेमाका अन्य मुख्य कलाकार हुन् ।
१८ वर्षपछि भुवन र विपना पुनः एकसाथ पर्दामा देखिने भएका छन्। यससँगै प्रेमकथामा रुचाइएका अनमोल र कमेडी कलाकार माग्नेबुढाको अनस्क्रिन केमिस्ट्री दर्शकलाई अत्यन्तै कौतुहलता भर्ने छ ।
कार्यक्रमका क्रममा अनमोलले ‘जेरी अन टप’को कथा आफ्नो लागि विशेष रहेको बताए । निर्माता न्यौपानेले तीन वर्षको तयारीपछि चलचित्र फ्लोरमा जान लागेको जानकारी दिए र यसलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने चलचित्रलाई आगामी फागुन २ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । यो सिनेमालाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।