अल्लु अर्जुनले तोडे थलापति विजयको रेकर्ड
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अहिले आफ्ना फ्यानहरूलाई खुसी पार्नको लागि ‘पुष्पा : द रुल’ को तयारीमा जुटेका छन् । धेरै समयदेखि प्रतिक्षित यो चलचित्र आगामी डिसेम्बर ५ मा सिनेमाघरहरूमा रिलिज हुने पक्का भएको छ ।
पहिलो भाग ‘पुष्पा: द राइज’को अपार सफलता पाएपछि अल्लु अर्जुनको स्टारडममा ठूलो बृद्धि भएको हो, जसले गर्दा दोस्रो भागलाई लिएर फ्यानहरूको आशा झनै बढेको छ ।
नवभारत टाइम्सको रिपोर्ट अनुसार, अल्लु अर्जुनले ‘पुष्पा २’ का लागि पारिश्रमिकका रूपमा ३ सय करोड भारु लिएका छन्, जसले उनलाई भारतकै सबैभन्दा धेरै कमाई गर्ने अभिनेता बनाएको छ ।
यसअघि यो कीर्तिमान थलापति विजयले ‘थलापति ६९’ फिल्मको लागि २७५ करोड भारु लिँदै बनाएका थिए । विजयले यो पारिश्रमिकको हिसाबमा शाहरुख खानलाई समेत पछि पारेका थिए, तर अहिले अल्लु अर्जुनले विजयलाई पछाडि पारेका छन् ।
अल्लु अर्जुनले दक्षिण भारतीय उद्योगमा आफ्नो भ्यालु र स्टारडमलाई पुन: प्रमाणित गर्दै, ‘पुष्पा’ जस्तो सुपरहिट फिल्मको सफलतालाई नयाँ उचाइमा पुर्याएका छन् । राष्ट्रिय पुरस्कार विजेता बनेपछि उनको ‘पुष्पा २’ फ्यानहरूले निकै उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।
‘पुष्पा २’ लाई हिन्दी सहित ६ भाषामा रिलिज गरिनेछ, जसले फिल्मको पहुँचलाई दक्षिण भारतबाट बाहिर अन्य क्षेत्रसम्म विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यस्तै, यो सिनेमाले प्रि-कलेक्शनमा ९ सय करोड भारू कमाएको छ, जुन दक्षिण भारतीय चलचित्र उद्योगका लागि नयाँ कीर्तिमानी सफलता हो ।
चलचित्रका निर्देशक सुकुमार हुन् भने प्रमुख भूमिकामा अल्लु अर्जुन, रश्मिका मन्डन्ना, फहद फासिल लगायतका चर्चित कलाकार रहेका छन् ।