दोस्रो प्रयासमा पनि असफल भयाे ‘सानो संसार’
काठमाडौं । गत असोज ११ गते पहिलोपटक प्रदर्शनमा आएको चलचित्र ‘सानो संसार’ पुनः प्रदर्शन हुँदा समेत असफल भएको छ ।
दुईपटक गरिएको प्रिमियरमा उत्कृष्ट पारिवारिक फिल्मको संज्ञा पाएको सिनेमालाई दर्शकको समर्थन भने पाउन सकेन । रिलिजकै दिन परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुँदा पहिलो प्रदर्शनमा ठूलो असर पर्यो । परिणामस्वरूप, निर्माताले दुई दिनमै हलबाट फिल्म उतारेर पुनः प्रदर्शनको निर्णय गरे ।
शुक्रबार पुनः प्रदर्शन गरिएको फिल्मले फेरि पनि प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाए पनि बजारमा उति प्रभाव पार्न असफल रह्यो । ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ जस्ता ठूला फिल्महरूसँग प्रतिस्पर्धामा रहेको ‘सानो संसार’ दर्शक तान्न असफल रह्यो, जसका कारण धेरै मल्टिप्लेक्सले फिल्मलाई दुई दिनमै पुनः उतारिदिए ।
आईएनआई सिनेमाज्, बिग मुभिज, वान सिनेमाज्, एफक्युबलगायत काठमाडौँका अन्य प्रमुख मल्टिप्लेक्सहरूबाट यो सिनेमा आइतबार बाटै उत्रिसकेको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले मंगलबारका लागि दुई शो मात्र दिएको छ ।
‘सानो संसार’ हेरिसकेका दर्शकले भने यसलाई प्रशंसा गरेका छन्, तर पनि चलचित्रलाई पर्याप्त दर्शकको साथ भने मिल्न सकेन । यसको असफलताले नेपाली फिल्म उद्योगमा प्रिमियरको वाहवाही मात्रले व्यापारिक सफलता सुनिश्चित गर्न नसक्ने तथ्यलाई फेरि एकपटक प्रमाणित गरेको छ ।
चलचित्रमा कुनै स्थापित कलाकार नभएको, गीत र ट्रेलरको प्रभाव कमजोर रहेको, र प्रचार-प्रसार केवल निर्माताको फेसबुक पेजमा सीमित रहेकोले चलचित्रले दर्शकलाई पर्याप्त रूपमा आकर्षित गर्न सकेन । दुईपटक नै भगवान् भरोसामा रिलिज गरिएको चलचित्रमा दर्शकको अभाव रह्यो ।
‘सानो संसार’ पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । यसमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।