karsang
Close Me

यो वर्षको दसैँमा नेपाली सिनेमाले तोडे यसअघिका रेकर्ड, कति गरे कारोबार ?

काठमाडाैं । यो वर्षको दसैँमा नेपाली चलचित्र क्षेत्रले उच्च ग्रसकलेक्सन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् । पछिल्ला वर्षका दसैँको तुलनामा यसपालि नेपाली चलचित्रले झन्डै ३५ देखि ४० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । वितरक र डीएसीएनका सञ्चालक अशोक शर्माका अनुसार यो उपलब्धि विगतका कुनै पनि दसैँका ग्रसकलेक्सनभन्दा धेरै हो ।

दसैँ अवधिमा ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ जस्ता चलचित्रले उल्लेखनीय व्यापार गर्दै दर्शकको मन जित्न सफल भएका छन् । शर्मा भन्छन्, “यो वर्षको दसैँ अवधिमा नेपाली चलचित्रमा यति धेरै उत्साह र व्यापार देखिएको छ, जुन यसअघि कहिल्यै थिएन ।”

‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको दिन रिलिज भएपछि लगातार दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो भने फूलपातीको दिनमा रिलिज भएका ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले पनि अत्यधिक व्यापार गरे । यससँगै, दुई चलचित्र एकैपटक रिलिज हुँदा पनि पर्याप्त शो र दर्शक पाउने वातावरण तयार भएको बताउँदै शर्मा थप्छन्, “दुई चलचित्र एकैपटक रिलिज हुँदा सफलताका लागि छुट्टाछुट्टै जानराका हुनुपर्छ ।”

कमेडी जानरामा रहेका ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ले एकअर्कालाई कुनै असर नगरी उत्कृष्ट शो र अकुपेन्सी पाएको छ । शर्मा भन्छन्, “तीन वा त्योभन्दा बढी चलचित्र एकसाथ प्रदर्शन हुँदा शो पाउन कठिन हुन्छ, जसले गर्दा व्यापारमा असर पर्छ ।”

नेपाली चलचित्र क्षेत्रमा यसपटकको दसैँको उपलब्धिले उद्योगलाई सकारात्मक दिशामा अघि बढाउने आशा गरिएको छ ।