यस्तो भिडियोतिर लागेपछि कसरी थामिएला ओरालो यात्रा साम्राज्ञी जी ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री कम्ती शानदार थिएन । पहिलो सिनेमाबाटै उनको सिने करिअरको ढोका यसरी खुल्यो, उनलाई रेडकार्पेट बिच्छ्याएर स्वागत गर्ने निर्माता निर्देशकको ओइरो लाग्यो । कमर्सियल सिनेमा निर्माण गर्ने निर्माता र निर्देशकका लागि उनी पहिलो रोजाइकी नायिका बनिन् ।

कोरियन लुक्स, टल एन्ड ब्युटिफुल साम्राज्ञीलाई मागेजति पारिश्रमिक दिएर निर्माता र निर्देशक चलचित्र खेलाउन तयार भए ।

उनले स्क्रिप्ट छानीछानी काम गर्ने वातावरण बन्यो । मेकर छानीछानी काम गर्ने उनीसँग अप्सन थियो । तर कस्तो स्क्रिप्ट र मेकर छानेर काम गरिन् ? यो सबैका अगाडि प्रष्टै छ । उनका चलचित्र हेर्दा नै छरलङ्ग हुन्छ ।

स्क्रिप्ट र टिममा अक्कल पुर्याउन नसक्दा दशक नपुग्दै साम्राज्ञीको सिने करिअर ओरालो लाग्यो । कहिले सोच्दै नसोची बोल्ने त कहिले त्यस्तै व्यवहारका कारण उनी चर्चाको पात्र भने बनिरहिन् ।

यो त भयो विगत, वर्तमानको कुरा गरौँ– मंगलबार मात्रै उनले अभिनय गरेको एउटा म्युजिक भिडियो सार्वजनिक भयो । ‘मालती’ बोलको गीतमा गीतमा स्वर ममता गुरुङ, बुलेट फ्लो र डीवी यो म्याजेस्टीको छ । गीतमा सुरज विक्रम थापा र डीवी यो म्याजेस्टीको शब्दरचना तथा संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेकी छन् । भिडियोमा साम्राज्ञीको अपोजिटमा विशाल खरेलले अभिनय छ । भिडियो सञ्जय न्यौपानेले निर्देशन गरेका हुन् । भिडियो थाइल्यान्डमा खिचिएको हो । एक साताभन्दा लामो समय लगाएर छायांकन गरिएको भिडियोमा थाइल्यान्डका मोडलहरूलाई कोरसमा देख्न सकिन्छ ।

निर्माणपक्षले नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो बजेटमा भिडियो निर्माण भएको दाबी गरेको छ । भिडियोमा लगानी ६० लाख रहेको दाबी गरिएको छ । सौरभ लामाले खिचेको म्युजिक भिडियोमा कमल खतिवडा र निर्देशक न्यौपाने आफैँले निर्देशन गरेका छन् ।

यो भिडियोमा साम्राज्ञीलाई बोल्ड एण्ड ब्युटी दुवै अवतारमा देखिन्छ । उनी यति बोल्ड देखिएकी छन्, भिडियो परिवारसँग बसेर हेर्ने कि नहेर्ने भनेर सोच्नै पर्छ ।

भिडियो ६० लाखमा बनेको रे ! उनले पारिश्रमिक पनि मोटै लिइन् होला । तर पारिश्रमिक मोटो पाइयो भन्दैमा जस्तो पनि भिडियोमा नाच्दिने ? न लय न सुर, न शब्द र स्वर राम्रो के देखेर यस्तो गीतको भिडियोमा अभिनय गर्न राजी हुनुभयो साम्राज्ञीजी ? यसले तपाईंको अभिनयको करिअर उठाउँछ कि डुबाउँछ ?

स्क्रिप्ट छान्न नसकेर सिनेमाको करिअर ओरालो लाग्यो । ओरालो लागेको करिअर अब त अक्कल पुर्याएर थाम्नुहोला कि भन्ने दर्शक तथा शुभचिन्तकले अपेक्षा गरिरहेका बेला यस्तो भिडियोमा देखेपछि दर्शकले चाहिँ के भनिरहेका होलान् ? फुर्सदमा सोच्ने पो होकी साम्राज्ञी जी ?