दीपकराज गिरीमाथि निश्चलको घुमाउरो व्यंग्य
काठमाडौं । निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले अभिनेता तथा निर्माता दीपकराज गिरीलाई सामाजिक सञ्जालमा घुमाउरो शैलीमा व्यंग्य प्रहार गरेका छन् ।
बस्नेतले केही दिनअघि आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई हलहरूले पर्याप्त शो नदिएको गुनासो गर्दै ओटीटी प्लेटफर्मलाई विकल्पको रूपमा प्रस्तुत गरेका थिए । हलमा रिलिज भएको समयमा चलचित्रले राम्रै कमाई गरे पनि बस्नेतले ओटीटीमार्फत दर्शकसम्म पुर्याउन चाहे ।
यसैबीच, दीपकराज गिरीले बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पछिल्लो समय प्रदर्शन भएका चलचित्रहरूको सफलताले नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको संकेत गरेको बताएका थिए ।
उनले ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता चलचित्रको सफल प्रदर्शनलाई उत्साहप्रद ठहर गरे । गिरीले एक्सन, कमेडी र सेंटिमेन्टल सबै विधाका चलचित्रहरू चल्नुले नेपाली चलचित्र उद्योगलाई सकारात्मक संकेत मिलेको बताएका छन् ।
तर, निश्चलले आफ्नो चलचित्रलाई हलमा शो नदिएकोप्रति असन्तुष्टि जनाउँदै हल सञ्चालकलाई व्यंग्य गरेका छन् । निश्चलले सामाजिक सञ्जालमा लेखेका छन्, “कोही चलचित्रकर्मी, जो हल पनि चलाउँछन्, उनीहरूले मौका पाउँदा ठूला गफ छाडेका छन् । नेपाली चलचित्रले राम्रो गरेपछि शो बढेको भन्दै हुंकार छाड्न भ्याएका छन् ।”
निश्चलले अगाडि लेखे, “विदेशी चलचित्र राम्रो हुन्छ भन्ने सोच राख्नेले नेपाली चलचित्रलाई पनि सुरुमै राम्रो शो किन दिन सक्दैन ? सधैं नेपाली चलचित्रले प्रमाणित गर्नुपर्ने हो ? निर्माताले शो थपिदिन गुहार्नुपर्ने हो ?”
उनले हल सञ्चालकहरूमाथि व्यंग्य गर्दै भने, “विदेशी चलचित्रको शो घटाएर नेपाली चलचित्रलाई दिएका छौं भन्ने भ्रम नछर्दा हुन्छ । नेपाली चलचित्रले दर्शक खोजेको हो, आफ्नै बलबुतामा हलसम्म ल्याएको हो । हात्ती आयो, हात्ती आयो फुस्सा भएपछि मात्र विदेशी चलचित्रको शो घटाइन्छ ।”
निश्चलको यस प्रतिक्रियालाई दीपकराज गिरीमाथि लक्षित गरिएको व्यंग्यका रूपमा लिइएको छ, किनकि दीपक पनि हल सञ्चालक हुन् ।