ग्राउन्ड रियालिटी बुझ, हाेइन भने हुने ‘सानो संसार’नै हाे

सधैँ र सबै ठाउँमा भावनामात्रै प्रधान भएर आउँदैन । हरेक ठाउँमा मान्छे भावनात्मक मात्रै हुँदैन । त्यसैले कहिलेकाहीँ पूर्वानुमान गरिएभन्दा वास्तविकता फरक हुन्छ । वास्तविकतालाई गहिराइमा पहिचान गर्न सकिएन भने त्यसको नाकारात्मक परिणामको भागिदार हुनुपर्छ ।

यसको पछिल्लो उदाहरणका रूपमा नेपालका सिनेमा हलमा दर्शकको चापलाई लिन सकिन्छ । दसैँको पूर्वसन्ध्यामा नेपालमा ठूलो वर्षा भयो । वर्षासँगै आएको बाढी र पहिरोले ठूलो परिमाणमा जनधनको क्षति भयो । गाउँ छिमेक बाढी र पहिरोले प्रभावित भएका बेला कसले सिनेमा हेर्छ भन्ने टिप्पणी भयो ।

दसैँ र तिहारको अवसर पारेर रिलिज हुन लागेका चलचित्र संकटमा पर्ने भए भन्ने धेरैको पूर्वानुमान रह्यो । त्यही पूर्वानुमानका कारण चलचित्र ‘सानो संसार’ र ‘आँखा’लाई निर्माताले हलबाट उतारे ।

तर, बाढी र पहिरोले दिएको घाउको खाटा बस्न नपाउँदै रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हेर्न ठूलो संख्यामा दर्शक हल पुगे । यो चलचित्रले ओपनिङ नै ८० लाख गर्यो ।

‘बेहुली फ्रम मेघौली’पछि एकै दिन ‘१२ गाउँ’, ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’ रिलिज भए । यी तीनवटै चलचित्र हेर्ने दर्शक हलमा उर्लिए । वितरकका अनुसार नेपालको इतिहासमै दसैँमा यो वर्ष सबैभन्दा धेरै चलचित्रले व्यापार गरे । अर्थात् बाढी, पहिरो र त्यसबाट सिर्जित दुखद् परिणाले दर्शकलाई हल छिर्नबाट रोकेन । यथार्थ यस्तो भइदियो, सिनेमा हेर्न झन धेरै दर्शक हल पुगे । जसका कारण रेकर्ड ब्रेकिङ कारोबार गर्न चलचित्र सफल भए ।

तर, यसको पूर्वानुमान लगाउन निर्माता र वितरकले सकेनन् । यसले नेपाली चलचित्रकर्मी ग्राउन्ड रियालिटी बुझ्न कति असक्षम छन् भन्ने प्रष्ट पार्छ । त्यसैले त टिप्पणी हुने गरेको हो, नेपाली चलचित्रकर्मी लहडमा कुद्छन्, सिसर्च (सोध) गर्दैनन् । अरुको कुरा सुन्दैनन्, आफू जान्दैनन् ।

कसैले कागले कान लग्यो भन्यो भने आफ्नो कान छाम्नुभन्दा पहिला नै कागको पछाडि दौडिन्छन् भन्ने आरोप यही कारण चलचित्रकर्मीलाई लाग्ने गरेको हो ।

आम नागरिकको चाहना के छ, उनीहरू के चाहन्छन्, कस्तो विषय र प्रस्तुति उनीहरूको रोजाइमा पर्छ भन्ने अध्ययन गर्नतर्फ लाग्नुपर्छ । यो अहिलेको अनिवार्य आवश्यकता हो । तर, यो आवश्यकतालाई नजरअन्दाज गर्ने हो भने हुने ‘सानो संसार’ र ‘आँखा’कै हालत हो ।

सिनेमा हेर्न जाने भनेको मनोरञ्जन र मन बहलाउन नै हो । चलचित्रकर्मीले न्यूनतम यति त बुझ्नुपर्यो । हाेइन भने न कराउँदा हुन्छ न धम्क्याउँदा ।

यथार्थकाे जगमा बसेर सही विश्लेषण गर्न सक्नुपर्छ । चलचित्रकर्मीले यो क्षमता अभिवृद्धि गर्नुपर्छ । चलचित्र बनाएर मात्रै हुँदैन, यसको व्यापार गर्न पनि जान्नुपर्छ ।