‘पूर्ण बहादुरको सारङ्गी’लाई बधाई ! जिम्मेवारी थपियो, अपेक्षा बढ्यो

वितरक र निर्माताको भनाइ र दाबीमा विश्वास गर्ने हो भने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक चलचित्र बनेको छ । यो चलचित्र हालसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ ।

वितरक मनोज राठीले ‘कबड्डी ४’को नाममा रहेको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले तोड्दै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । वितरक राठीका अनुसार मंगलबारसम्म यो चलचित्रले २५ करोडको आँकडा पार गरेको छ । यो नेपाली बजारको मात्रै कलेक्सन हो ।

जबकी धेरै कलेक्सन गर्ने चलचित्रको रकेर्ड आफ्ना नाममा पार्न ‘पूर्ण बहादुरको सारङ्गी’लाई २३ करोड ५० लाखको आंकडा पार गरेमात्रै पुग्थ्यो ।

अझै यो चलचित्रले नौ डिजिटको कलेक्सन गर्ने धेरैले अनुमान गरेका छन् । यदि, अझै १० करोड नेपाली बक्सअफिसबाटै कलेक्सन गर्न सफल भयो भने ३५ करोडभन्दा माथिको कमाई नेपालबाटै हुनेछ ।

यो रेकर्ड तोड्न अर्को चलचित्र कहिले आउँछ थाहा छैन । तर, केही समय भने लाग्न सक्छ । ग्रसकलेक्सनसँगै यो चलचित्रले थुप्रै रेकर्ड बनाइसकेको छ । थोरै समयमा धेरै कमाई गर्ने चलचित्र, धेरै शो पाउने चलचित्रको रेकर्ड पनि यसकै नाममा आइसकेको छ । सम्भवतः नेपाल बाहिरबाट धेरै कमाउने र शो पाउने चलचित्र पनि यही हुनेछ ।

लो बजेटमा बनेर धेरै कमाउने र सहायक भूमिका गरिरहेको कलाकारलाई नायक बनाएर धेरै पैसा कमाउने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’कै नाममा आइसकेको छ ।

यी अनेकन रेकर्ड तोड्न अर्को चलचित्र कहिले बन्छ त्यो त भविश्यकै गर्भमा छ । तर, यसले नेपाली सिनेमाको बजार सानो छ, दर्शक छैनन् भन्ने टिप्पणीलाई यसले गलत प्रमाणित गरिदिएको छ ।

त्यसो त कमाउँदैमा राम्रो र नकमाउँदैमा नराम्रो चलचित्र भन्ने हुँदैन । विश्वमा त्यस्ता थुप्रै चलचित्र छन्, जसलाई मास्टर पिस मानिन्छन् । तर, तिनले बिजनेस नगन्य हुन्छ ।

यद्यपि, राम्रो चलचित्रको एउटा मानक उसले गर्ने ग्रसकलेक्सन पनि हो । ठूलो परिमाणमा कमाई गर्ने चलचित्र सफल भने हुन् । किनकी यी चलचित्रमा दर्शकलाई हलसम्म लैजाने शक्ति हुन्छ । सिनेमाको बजार चलायमान हुन्छ । निर्मातासहित चलचित्रकर्मीमा हौसला र उत्साह थप्छ । त्यसैले ठूलो कमाई गर्ने चलचित्र आफैँमा सफल चलचित्र हुन् ।

कुरा रह्यो जिम्मेवारीको । ‘पूर्ण बहादुरको सारङ्गी’ले रेकर्ड ब्रेकिङ कलेक्सन गर्यो । निर्माताको गोजी भरिदियो । ठूलै बजेटमा कम्तीमा दुई डिजिटभन्दा माथि चलचित्र बनाउने पैसा कमाइदियो ।

अब, ‘पूर्ण बहादुरको सारङ्गी’ले चलचित्र बनाउन मुठ्ठी कस्नु पर्दैन । मुठ्ठी खोलेर यसका निर्माताले चलचित्र बनाउन सक्छन्, राम्रो चलचित्र दर्शकलाई दिन बजेटका लागि कुनै वितरकको ढोका ढक्ढक्याउनु पर्दैन, डिजिटल राइट्सको पैसा कुर्नु पर्दैन । त्यसैले अब दर्शकमात्रै होइन नेपाली चलचित्र उद्योगले पनि ‘पूर्ण बहादुरको सारङ्गी’सँग राम्रा र यस्तै मनछुने चलचित्रको अपेक्षा गरिरहनेछन् ।

दर्शक र नेपाली चलचित्र उद्योगको अपेक्षा पूरा गर्ने/नगर्ने त्यो ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माताको विवेकको कुरा हो । तर, अहिलेलेलाई नेपाली सिनेमाको बजार देखाइदिएको र अनेकन रेकर्ड ब्रेकका लागि बधाई !