karsang
Close Me

‘लण्डन टु पेरिस’काे अग्रिम बुकिङ खुला, कति पायो शो ?

यही जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘लण्डन टु पेरिस’को अग्रिम बुकिङ खुला भएको छ ।

घनश्याम लामिछाने निर्देशित चलचित्रको मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो । केही हलहरूले अग्रिम बुकिङ खुला गरेका छन् भने केही हलको प्रि-बुकिङ खोल्न बाँकी छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई धेरै शो दिएको छैन । काठमाडौं उपत्यकामा १२ दिएको क्यूएफएक्सले उपत्यका बाहिर १७ शो प्रदान गरेको छ । यो सिनेमाले जम्मा २९ शो पाएको छ ।

यस्तै अन्य अधिकांश फिल्म हलहरुले हालसम्म खुलाएको बुकिङलाई हेर्दा ‘लण्डन टु पेरिस’लाई धेरै शोज दिएका छैनन् ।

देशकै दोस्रो ठूलो चेन आईएनआईले आफ्नो आउटलेटमा जम्मा ३ शो उपलब्ध गराएको छ । वान सिनेमा, एफक्यूब, विग मुभिजले बुकिङ खुलाएका छैन ।

‘फर्की फर्की’ र ‘पुजार सार्की’ हलमा रहेका र दर्शकको चाप भएकाले ‘लण्डन टु पेरिस’ले अपेक्षा गरेजस्तो धेरै शो नपाएको हो । यस्तै सोही दिन प्रदर्शन हुने चलचित्र ‘गाउँ आएको बाटो’सँग तुलना गर्दा यो सिनेमालाई प्राय हलले राम्रो शोज दिएका छैनन् ।

प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद रहेको सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।