सिनेमाको बजार पारदर्शी बनाऊ, मिलिभगत छ कि खोजी गर

नेपाली चलचित्र उद्योगमा निर्माता र प्रदर्शकको लडाइँ पुरानै हो । कहिले प्रदर्शकले नेपाली चलचित्रलाई उचित स्थान नदिएको त कहिले बक्सअफिस सिस्टममा नजोडिएको भन्ने आरोप प्रदर्शकलाई निर्माताबाट लाग्दै आएको छ ।

फेरि एकपटक यो तथ्य उजागर भएको छ । सेभेन सिज सिनेमाले सही हिसाब नदिने सिनेमा हलबाट आफ्नो चलचित्र उतार्ने निर्णय गरेपछि पारदर्शिताको विषय सतहमा आएको छ ।

मोफसल टुरमा पुगेर निर्मातले हिसाब देखाउन आग्रह गर्दा फेक विवरण उपलब्ध गराएको निर्माताले दाबी गरेका छन् । आफू ठगिएको महसुस गरेका हलबाट चलचित्र उतार्ने निर्णय निर्माताले गरेका थिए ।

सेभेन सिजको उक्त निर्णय आएपछि चलचित्र घरका सञ्चालकहरूको संस्थाले प्रमाण देखाउन ‘पूर्ण बहादुरको सारङ्गी’लाई चुनौती दियो । प्रमाण जुटाउन नसके कारबाही गर्ने चेतावनी दियो ।

चलचित्र विकास बोर्डले भने ‘पूर्ण बहादुरको सारङ्गी’ उतार्ने निर्णय भएका हलहरू गैरकानुनी रुपमा सञ्चालनमा रहेको बताएको छ । पटकपटक नवीकरण गर्न आग्रह गर्दा नवीकरण नगरी लुकिछिपि चलचित्र प्रदर्शन गरिरहेको बोर्डले प्रष्टसँग भनेको छ । बोर्डले कारबाही गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

बोर्डले गैरकानुनी भनेका हलको बचाउमा संघ किन उत्रियो, संघलाई ती हल नवीकरण नगरी सञ्चालनमा थिए भन्ने थाहा थिएन, कि थाहा भएर पनि अनदेखा गरेर बसिरहेको थियो ? हो भने त यो गम्भीर विषय हो । संघका पदाधिकारीले यसबारे प्रष्ट पार्नुपर्छ । नैतिकता छ भने राजीनामा दिनुपर्छ ।

वितरकहरूबाट कसरी गैरकानुनी रुपमा सञ्चालन भइरहेका हलमा चलचित्र वितरण भइरहेका छन् ? कुन हल नवीकरण छ अथवा छैन भन्ने हिसाब मिलान गर्दाका कागजातबाट त थाहा हुन्छ होला । कि मिलिभगतमा यस्ता हलमा चलचित्र प्रदर्शन भइरहेका छन् ?

निर्मातालाई तथ्यांक दिँदा फलानो÷फलानो हल बन्द भएको जानकारी दिने । तर भित्रभित्रै सिनेमा चलनएर त्यसको आम्दानी मिलिभगतमा वितरक र प्रदर्शकले आफ्नो खल्तीमा हालिरहेका त थिएनन् ? यसको सत्यअत्य अब बाहिर ल्याउनुपर्छ । यसमा निर्माता संघ र चलचित्र विकास बोर्डले तदारुकता देखाउनुपर्छ । चलचित्रकर्मीले आवाज उठाउनुपर्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गैरकानुनी रुपमा चलाउने हलले ‘कबड्डी’, ‘छक्का पञ्जा’, ‘१२ गाउँ’ जस्ता चलचित्र लगाएनन् भनेर किन शंका नगर्ने ?

जबसम्म बजार पारदर्शी हुँदैन, तबसम्म चलचित्र क्षेत्रमा निर्माताको आकर्षण देखिँदैन । विभिन्न व्यापार व्यवसायमा लगानी गर्ने लगानीकर्तालाई यो क्षेत्रमा आकर्षित गर्न पनि चलचित्रको व्यापार पारदर्शी हुन जरुरी छ ।