अञ्जनाको प्रश्न- विवादलाई चल्ने भनेको हो ?
काठमाडौं । अभिनेत्री अञ्जना बराइली लगातार तीनवटा सुपरहिट सिनेमा दिएर चर्चामा छिन् । पछिल्लो समय चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ मा गरेको अभिनयले त अहिले उनी झनै सर्वत्र चर्चामा छिन् । यो सिनेमामा अन्जना मुख्य भूमिकामा छिन् ।
कात्तिक १५ गते रिलिज भएको ‘पुर्ण बहादुरको सारङ्गी’ले हालसम्म दैनिक उच्च कलेक्सन गरिरहेको छ । निर्माणपक्षका अनुसार १६ दिनमा यो चलचित्रले ३४ करोडको आंकडा पार गरिसकेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएर ब्लकबस्टर भइसक्दा पनि अञ्जना ओझेलमा परेको तर्कहरु भइरहेका छन् । यसै क्रममा उनले चलचित्र क्षेत्रमा सक्रिय भएर र सफल सिनेमाहरूमा काम गरे पनि चर्चामा नआएको प्रसंगमा आफ्नो धारणा राखेकी छिन्।
दर्शकसँग साक्षात्कार गर्न हल पुगेकी अञ्जनाले आफ्नो कामको चर्चा कम भएको विषयमा मिडियाकर्मीहरूसँग कुराकानी गर्दै उल्टै प्रश्न उठाएकी छन्, ‘चल्ने भनेको के हो ? मैले गरेको कामहरू हिट भइरहेका छन् । अब विवादलाई चल्ने भनेको हो कि ? उनले भनिन् ।’
अञ्जनाले विवाद (कन्ट्रोभर्सी) मार्फत चर्चामा आउने कुनै इच्छा नभएको प्रष्ट पार्दै भनिन्, ‘मलाई बदनाम हुनुभन्दा गुमनाम भएर आफ्नो कर्म गर्न मन पर्छ। मैले आफ्नो लक्ष्य पनि यसैमा केन्द्रित गरेको छु । मैले गरेको कामलाई दर्शकले मन पराइदिनु भएको छ। बुढा बा–आमा आएर राम्रो काम गरेको छौं भन्नुहुन्छ। मेरो फिल्महरू कमर्सियल हिट भइराखेका छन् । अब, यो बाहेक चल्ने भनेको के रहेछ ?’
अञ्जनाको यो भनाइबाट उनले आफ्नो कर्ममा विश्वास राख्दै चर्चाभन्दा काममा ध्यान दिन चाहेको सन्देश दिएको देखिन्छ ।
यसअघि अञ्जनाले अभिनय गरेको फिल्महरू ‘महापुरुष’ र ‘पुजार सार्की’ बक्स अफिसमा सफल सावित भएका छन् । यतिबेला उनी नयाँ सिनेमा ‘डोरी’ मा काम गर्दैछिन् ।