‘सत्यवीर’को शीर्ष भूमिकामा प्रकाश शाह अनुबन्धित
काठमाडौं । चलचित्र ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् ।
विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा यसअघि अभिनेता प्रदीप चौधरी अनुबन्धित भइसकेका छन् । ‘एनिमेसन र भिएफएक्समा एक दशकभन्दा बढी समयदेखि सक्रिय रहेका खड्काको यो पहिलो निर्देशकीय सिनेमा हो ।
केही दिनअघि ‘सत्यवीर’ निर्माणको घोषणा गरिएसँगै यस चलचित्रका मुख्य पात्र अभिनेता प्रदीपको फर्स्ट लूक पोस्टर सार्वजनिक गरिएको थियो । उनलाई आक्रामक लुक्समा देखाइएको थियो । जसमा उनी रगत पोतिएको बञ्चरो लिएर उभिएको र उनको अनुहार र पाखुरामा चोटका चिन्ह रहेको देखाइएको थियो ।
निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले अभिनेता प्रकाशलाई अनुबन्धित गराएसँगै उनको पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पोस्टरमा उनलाई एङ्ग्री लुक्समा प्रस्तुत गरिएको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार शाह यस सिनेमाको मुख्य कलाकारका रूपमा रहनेछन् । यद्यपि, उनले पोजिटिभ कि नेगेटिभ भूमिकामा देखिनेछन् भन्ने खुलाइएको छैन ।
शाह यसअघि चर्चित सिनेमाहरू ‘लभ स्टेशन’, ‘साङ्लो’ र ‘रावायण’ मा प्रमुख खलनायकको भूमिकामा देखिएका थिए ।
हालसम्म अनुबन्धित भएका दुइ अभिनेताहरुको सार्वजनिक क्यारेक्टर पोस्टरले सिनेमा क्राइम थ्रिलर जनराको संकेत गर्दछ । बाँकी कास्टिङ विवरण खुलाइएको छैन ।
आदेश सुब्बा निर्माताको भूमिकामा रहेका यस सिनेमा आगामी डिसेम्बरदेखि फ्लोरमा जाने योजना छ ।
सिनेमाको छायांकन स्थानहरूको रूपमा काठमाडौं र चितवन चयन गरिएको छ भने करिब ४० प्रतिशत दृश्यहरू भिएफएक्स प्रविधिबाट तयार गरिनेछन् । यस सिनेमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ, र यसको कथा अभिनेता प्रदीप चौधरीले लेखेका हुन् ।
साढे २ करोडको बजेटमा निर्माण हुने यो सिनेमा नेपाली दर्शकहरूका लागि उत्कृष्ट क्राइम थ्रिलर अनुभव दिने अपेक्षा गरिएको छ ।
प्रदीपलाई लिएर ‘सत्यवीर’को घोषणा