karsang
Close Me

बोर्ड अध्यक्ष डीसीको दाबी- दुई वर्षको काम ६ महिनाभित्र गर्छु

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले आफ्नो कार्यकालमा द्रुतगतिको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डीसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे ।

अध्यक्ष डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने दाबी गरे । उनले बोर्डको नेतृत्व सम्हालेको केही समयमै दुई वर्षभित्र गर्नुपर्ने काम ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै भने, ‘बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायतता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।’

अध्यक्ष डीसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहास र पटकथा सङ्ग्रह गर्ने योजनालाई अघि बढाइएको उल्लेख गरे । साथै, आगामी वर्ष २०८२ वैशाख १ गतेदेखि ‘रियल टाइम डाटा’ उपलब्ध गराउने गरी बक्सअफिस प्रणालीमा सुधार गर्ने कामलाई तीव्रता दिइएको छ ।

“मेरो समूहले अहोरात्र काम गरिरहेको छ,” उनले भने, “वैशाख १ गतेभित्र यी सबै कार्यहरूको परिणाम चलचित्रकर्मीले महसुस गर्न सक्ने गरी देखिनेछ ।”

डीसीले चलचित्र क्षेत्रको ऐतिहासिक दस्तावेजहरूको संग्रहालय स्थापना र पटकथालाई व्यवस्थित रूपमा सङ्ग्रह गर्न आधुनिक प्रविधिको उपयोग गरिने बताए । यी योजनाहरूले नेपाली चलचित्र क्षेत्रलाई विश्वस्तरीय बनाउन मद्धत गर्ने विश्वास उनले व्यक्त गरे ।