‘पूर्ण बहादुरको सारङ्गी’लाई नपछ्याउ, सडकको बास होला
चलचित्र ‘लुट’ बनेपछि ६० को दशकभर त्यस्तै सिनेमा बन्ने लहर चल्यो । ‘लुट’ले व्यापारिक सफलता प्राप्त गरेपछि यस्तो सिनेमा चल्ने रहेछन् भनेर त्यसको नक्कल गर्ने लहरै चल्यो ।
चलचित्र ‘छक्का पञ्जा’ कमेडी जानरामा आयो । ‘कोहिनुर’को रेकर्ड ब्रेक गर्दै यसले नेपाली सिनेमाको बजार १० करोडभन्दा माथि रहेको प्रमाणित गरिदियो । त्यसपछि त्यस्तै सिनेमा बनाउने होडमा नेपाली निर्देशक र निर्माता लागे ।
‘कबड्डी’ले पनि ठूलो मासलाई हलमा तान्यो । यसको पछिल्लो सिरिजले ‘छक्का पञ्जा’को ग्रसकलेक्सनको रेकर्ड ब्रेक गर्यो । दर्शकले डार्क कमेडी मन पराउने रहेछन् भनेर त्यसको नक्कल गर्नेको बाढी आयो । यो क्रम अहिलेसम्मै जारी छ ।
यो वर्ष ‘पूर्ण बहादुरको सारङ्गी’ले सबै रेकर्ड ब्रेक गर्दै ४० करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ । यो ओभरसिज मार्केटबाहिरको व्यापार हो ।
नेपालको ग्रसकलेक्सनको ५० प्रतिशतभन्दा माथि ओभरसिजबाट पनि आउने सम्भावना छ । यो लोभलाग्दो कलेक्सन नेपाली चलचित्रका लागि कोसेढुंगा हो । यसको असर के पर्छ, त्यो त आगामी दिनले देखाउनेछ ।
तर, नेपाली चलचित्रमा नक्कल गर्ने र अरुको पछि लाग्ने गलत संस्कार छ । यो पटक पनि त्यही संस्कार नदेखिएला भन्न सकिन्न ।
तर, पुरानै संस्कारले यो पटक पनि नेपाली चलचित्र उद्योगलाई गाँज्यो भने यसले निर्माताको लगानी डुब्नेछ । निर्माता घर न घाटको हुने निश्चित प्रायः छ ।
नेपालमा कुनै एउटा चलचित्र सफल भयो भने त्यस्तै चलचित्र बनाउने ट्रेण्ड छ । जसका कारण निर्माताको लगानी डुब्दै आएको छ । यो इतिहासले प्रष्टै देखाएको कुरा हो ।
‘लुट’ चल्यो तर ‘लुट’जस्ता चलचित्र चलेनन् । ‘छक्का पञ्जा’ चल्यो तर ‘छक्का पञ्जा’जस्ता चलचित्रले लगानी डुबाए । ‘कबड्डी’ चल्यो तर ‘कबड्डी’जस्ता चलचित्र डुबे । तर, यो नजिर हेरेर त्यसबाट सचेत हुने मेकर देखिएका छैनन् ।
त्यसैले अब ‘पूर्ण बहादुरको सारङ्गी’जस्ता चलचित्र बन्ने लहर चल्नेछ । तर, ती सिनेमा पनि जुन अपेक्षाले बनाइनेछन्, त्यो पूरा हुनेछैन । लगानी बालुवामा पानी हुनेछ । दर्जनौं निर्माता सडकमा पुग्नेछन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा राम्रा चलचित्र पनि बन्लान् । तर, तिनले ‘पूर्ण बहादुरको सारङ्गी’ले झैँ व्यापारिक सफलता प्राप्त गर्नेछैन । जसले मेकरलाई निराश बनाउनेछ । चलचित्र उद्योग घाटामा जानेछ ।
गुन्द्रुक पनि एक दिन खाँदा मिठो लाग्ने हो, वर्षदिनभर त्यही खायो भने मिठो भए पनि स्वादिलो लाग्दैन । तर, त्यही पालो गर्दै दिन बिराउँदै खायो भने मिठो लाग्छ । त्यसैले फरकफरक जनरा र फरक टेस्टका चलचित्र आए भने त्यसलाई दर्शकले स्वीकार्छन् भन्ने यथार्थलाई निर्माता र निर्देशकले नभुलुन् ।