‘परालको आगो’मा सुहाना अनुबन्धित, पहिलोपटक घरबाहिरको चलचित्रमा काम गर्दै
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् ।
आफ्नै ब्यानरबाहिर उनले काम गर्न लागेको यो पहिलो चलचित्र हो । चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार चलचित्रमा अनुबन्धित गरेकी हुन् ।
चलचित्रमा अनुबन्धित भएपछि सुहानाले अमर कृतिमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताइन् । “त्यही कारण मैले घरबाहिरको चलचित्र पहिलोपटक साइन गरेँ,” , सुहानाले भनिन् ।
लक्ष्मण सुनारले यो चलचित्रलाई निर्देशन गर्नेछन् ।
निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागेको बताए । चलचित्र फागुनदेखि छायांकनमा जानेछ ।
मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको अनुमति दिएको थियो । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहीत छ ।