‘पूर्णबहादुरको सारङ्गी’ले विदेशमा कति कमाउला, यस्तो छ वितरकको पूर्वानुमान
काठमाडौं । नेपालमा हालसम्मका अधिकांश रेकर्ड ब्रेक गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले विदेशमा पनि लोभलाग्दो कमाई गरिरहेको छ ।
तीन सातामा नेपालमा ४० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले विदेशमा पनि आकर्षक ग्रसकलेक्सन गरिरहेको छ ।
अमेरिका, अस्ट्रेलिया र न्युजिल्याण्डको ग्रसकलेक्सन निर्माणपक्षले सार्वजनिक गरेको छ ।
तेस्रो सातासम्म अस्ट्रेलियामा ‘पूर्ण बहादुरको सारङ्गी’ले ७ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
न्युजिल्याण्डमा ३५ लाख १९ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
निर्माणपक्षले अमेरिकामा यसअघि नेपाली चलचित्रले बनाएका सबै रकेर्ड तोडिसकेको छ । १० दिनमा अमेरिकामा ६ करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
अन्य देशको ग्रसकलेक्सन भने निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
तर, यो चलचित्रले ओभरसिज मार्केटबाट पनि ठूलो परिमाणमा ग्रसकलेक्सन गर्ने हालसम्मको ग्रसकलेक्सनले देखाइसकेको छ । नेपालको ग्रकलेक्सनको करिब ७५ प्रतिशत ओभरसिज मार्केटबाट आउने वितरकहरू बताउँछन् ।
“यति नै भनेर अमाउन्ट नै तोक्न त सकिँदैन । तर नेपालको कमाइको करिब ७५ प्रतिशत बाहिरबाट पनि आउने देखिएको छ,” एक चलचित्र वितरक भन्छन्, “यो भन्दा अगाडि चलेको १२ गाउँ नेपालमा चले पनि ओभरसिज मार्केटमा यसको माग धेरै भएन । तर पूर्ण बहादुरको सारङ्गी भने जसरी नेपालमा चलिरहेको छ, त्यसरी ने नेपाली डायस्पोरामा पनि चलिरहेको छ ।”
त्यसैले नेपाललमा यो चलचित्रले ५० करोड ग्रसकलेक्सन गर्यो भने ओभरसिजबाट करिब ४० करोड आउने ती वितरकको भनाइ छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।