karsang
Close Me

ऐतिहासिक संघर्षलाई चित्रण गरेको चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक

काठमाडौं । कार्तिक ३० गते प्रदर्शनमा आउने भनिएको अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘बम बहादुर’ आगामी पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ ।

निर्माण पक्षले यो सिनेमाको प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरेको छ । समाज सुधार र शिक्षाको महत्त्वलाई उजागर गरेको टिजरले “अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ। शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन।” भन्ने सन्देश स्थापित गर्न खोजेको छ ।

१९८० को दशकको ऐतिहासिक पृष्ठभूमिमा आधारित यो चलचित्रले भारतको नेपाली समुदायले झेलेका कठिन संघर्षलाई उजागर गर्छ । विशेषगरी दार्जिलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सामाजिक र राजनीतिक आन्दोलनका पलहरूलाई सिनेमामा चित्रण गरिएको छ ।

निर्देशक जोन राईका अनुसार ‘बम बहादुर’ केवल मनोरञ्जनात्मक नभई सन्देशमूलक र नेपाली समुदायको संघर्षलाई डिजिटल दस्ताबेजको रूपमा प्रस्तुत गर्ने बताउँछन् ।

निर्देशक राईका अनुसार ‘बम बहादुर’ले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स, र सामाजिक कथानकको मिश्रण दिनेछ । बम बहादुर नामक पात्रको चार दशक अघिको संघर्षले कसरी वर्तमान जीवनलाई प्रभावित गरेको छ भन्ने कथा केन्द्रित छ ।

चलचित्रमा प्रमुख भूमिकामा सौगात मल्लसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दासलगायतको अभिनय रहेको छ । बाल कलाकार वशिष्ट कार्की र अन्य कलाकारहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.ले निर्माण गरेको यो चलचित्रका निर्माता सञ्जीव सार्की हुन् । चलचित्रको कथा र पटकथा जोन राई र रुपेश तामाङले तयार पारेका हुन् भने छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् । निर्माता सार्कीले यो चलचित्र बनाउन मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो इतिहासप्रति सचेत गराउनु रहेको बताएका छन् ।