karsang
Close Me

दीपेन्द्र के खनालका दुई चलचित्र तयार, ‘मेयर’ र ‘घर नम्बर–२’मा कुन पहिला आउला ?

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालका दुईवटा चलचित्र यतिबेला प्रदर्शनका लागि तयार छन् । ‘मेयर’ र ‘के घर के डेरा : घर नम्बर–२’ तयार छन् ।

‘मेयर’ केही पहिला नै तयार भइसकेको चलचित्र हो भने ‘के घर के डेरा : घर नम्बर–२’ भर्खरै मात्र तयार भएको छ । तर, यी चलचित्र अहिलेसम्म रिलिजका लागि प्रचारप्रचारमा उत्रिएका छैनन् ।

‘के घर के डेरा : घर नम्बर–२’ यसअघि माघ ११ गते प्रदर्शनमा आउने निर्माणपक्षले बताएको थियो । तर, अहिलेसम्म यसको प्रचार नगर्नुले यो मितिमा चलचित्र नआउने पक्कापक्की भएको छ ।

त्यसैले यी दुईमध्ये कुन चलचित्र पहिला रिलिज हुन्छ भन्ने दर्शकमा कौतुहलता छ । दीपेन्द्र माघ १६ गते सहिद दिवसको अवसर पारेर ल्याउने तयारीमा रहेको बुझिएको छ ।

तर, कुन चलचित्र यो मितिमा ल्याउनेछन्, प्रष्ट पारिसकेका छैनन् । यद्यपि, केही दिनमै रिलिज डेट घोषणा गर्ने तयारीमा रहेको बताइएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ गत साउन २५ गतेबाट छायांकनमा गएको थियो ।

दीपेन्द्र के खनालको निर्देशन तथा बुद्दि सागरको कथा लेखन रहेको सिनेमालाई काठमाडौंका विभिन्न स्थानमा खिचिएको थियो ।

सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको अभिनय छ ।

सिनेमाले सामाजिक विषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गरिएको निर्देशक खनाल बताउँछन् ।

शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको सह–निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु छन् ।

दीपेन्द्र के खनाल निर्देशित ‘मेयर’को छायांकन काठमाडौंको मल्ल होटेल, सर्लाही र सिन्धुलीमा भएको थियो ।

अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा सिनेमाको छायांकन गरेको निर्देशक खनालले बताएका छन् । एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको उनले बताउँदै आएका छन् ।

निर्देशक खनालले राजनीतिक विषयको सिनेमामा यति धेरै क्राउड नेपाली सिनेमामा पहिलोपटक देखिने बताएका छन् । सिनेमको पटकथा महेश दवाडीले लेखेका छन् ।

चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

सिनेमा ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ ।