karsang
Close Me

अबको डेढ महिना हुनेछ नयाँ चलचित्रको खडेरी

काठमाडौं । असोज लागेसँगै चलचित्र रिलिजको चाप बढ्यो । एकपछि अर्को, एकैदिन तीनवटासम्म पनि चलचित्र रिलिज भए । दर्शकले पनि भरपुर साथ दिए । अहिले पनि नेपाली चलचित्रले हलमा दर्शकको साथ पाइरहेका छन् ।

यस्तोमा अबको डेढ महिना भने हलमा नयाँ नेपाली चलचित्रको खडेरी देखिँदैछ । असोज र कात्तिक महिनामा उल्लेख्य साथ दिएका दर्शकले अब मंसिर र पुसमा नयाँ चलचित्रको खडेरी भोग्नुपर्ने देखिएको हो । हाल नेपाली हलमा कुनै पनि नयाँ चलचित्रको घोषणा नभएपछि दर्शकले अब पुस ५ सम्म पर्खनुपर्नेछ ।

गत शुक्रबार ‘तेला भिसा’ र ‘अग्निदहन’ गरी एकसाथ दुई फिल्म रिलिज भए । यो शुक्रबार कुनै नयाँ नेपाली चलचित्र रिलिज हुनेछैन ।

यो शुक्रबार मात्र होइन्, अब नयाँ नेपाली चलचित्र हेर्न पुस ५ कुर्नुपर्नेछ । उक्त दिन सौगात मल्ल अभिनीत ‘बम बहादुर’ रिलिज हुनेछ । त्यसपछि फेरि अर्को नेपाली चलचित्र रिलिज हुन ३ साता कुर्नुपर्नेछ । पुस २६ मा ‘कार्साङ’ रिलिज हुनेछ । यी दुई चलचित्रका बीच दर्शकले तीन सातासम्म नयाँ नेपाली चलचित्रको प्रतीक्षा गर्नुपर्नेछ ।

मंसिर, पुसमा चलचित्रको खडेरी देखिनु नौलो भने होइन् । अरूबेला भिड्न खोज्ने निर्माताहरू यो समयमा रिलिज गर्न डराउँदै आएका छन् । निर्माता र वितरकहरूले जाडोको समयमा दर्शक हलसम्म आउन हिच्किचाउँछन् भन्ने ठानेर यो समयमा चलचित्र रिलिज गर्न डराउने गरेका छन् । जाडोको समयमा चलचित्र चल्दैन भन्ने बुझाइ उनीहरूमा रहेको पाइन्छ । यस अवधिमा नेपाली दर्शकलाई विदेशी चलचित्रको भर पर्नुपर्नेछ ।

यो बीचमा ‘पुष्पा २’ सहित केही विदेशी चलचित्र प्रदर्शनमा आउँदैछन् । अल्लु अर्जुनको ‘पुष्पा २’ अर्को बिहीबार (मंसिर २०) मा रिलिज हुँदैछ । यो चलचित्रको रिलिज आसपासमा चलचित्र ल्याउन भने नेपाली निर्माताहरू डराएको हुनसक्ने देखिन्छ । यो बहुप्रतीक्षित चलचित्रले नेपाली बजारमा समेत ठूलो प्रभाव पार्ने भएकाले नेपाली निर्माताहरूले यस समय चलचित्र प्रदर्शन गर्न चाहेका छैनन् भन्ने बुझन सकिन्छ ।

पुस २६ मा ‘कार्साङ’ रिलिजपछि माघमा भने नेपाली चलचित्र उद्योग केही सक्रिय हुने देखिन्छ । केही नेपाली चलचित्रहरूले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । दर्शकहरूले माघ महिनामा नयाँ चलचित्रहरूको मज्जा लिन सक्नेछन्।

नेपाली चलचित्र उद्योगका लागि यो खडेरी चुनौती बने पनि आगामी महिनाहरूमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।